वैकल्पिक आवासबिना सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय फिर्ता लिन कांग्रेस महामन्त्री राणाको माग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री उदयशम्शेर राणाले वैकल्पिक आवासको व्यवस्था नगरी सुकुमवासी परिवारलाई होल्डिङ सेन्टरबाट हटाउने सरकारी निर्णयप्रति आपत्ति जनाएका छन्।

राणाले सामाजिक सञ्जालमार्फत घरबारविहीन भएका परिवारलाई उचित बसोबासको व्यवस्था नगरी होल्डिङ सेन्टरबाट हटाउनु उचित नहुने बताएका छन्। आश्रय लिइरहेका परिवार कहाँ जाने भन्ने प्रश्न उठाउँदै उनीहरूको सुरक्षित आवास सुनिश्चित गर्ने दायित्व सरकारको भएको उनको भनाइ छ।

उनले प्रभावित परिवारसँग संवाद गरी सम्मानजनक र सुरक्षित पुनर्वासको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन्। पुनर्वासको व्यवस्था नहुँदासम्म सुकुमवासी परिवारलाई होल्डिङ सेन्टरमै बस्न दिनुपर्ने उनको माग छ।

राणाले वैकल्पिक आवासको व्यवस्था नगरी परिवारलाई हटाउने निर्णय तत्काल फिर्ता लिनसमेत सरकारसँग आग्रह गरेका छन्।

१२ मंसिर २०८३, शुक्रबार १३:४९