भोटेकोशी बाढीपीडितलाई बिजुलीको बिलमै जरिवाना, मिटर हटाउन पनि झन्झट
काठमाडौं — भोटेकोशी बाढीका कारण घरबार गुमाएर विस्थापित भएका परिवारलाई नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुलसँगै जरिवाना र भ्याटसमेत जोडेर बिल पठाएको पाइएको छ।
भाद्र १० गते आएको बाढीले रसुवा, नुवाकोट र धादिङका त्रिशूली किनारका बस्तीमा ठूलो क्षति पुर्‍याएको थियो। धेरै घर बग्नुका साथै कतिपय घर पुरिएपछि परिवारहरू अन्यत्र आश्रय लिएर बस्न बाध्य छन्। यस्तो अवस्थामा समेत घरमा जडान भएको विद्युत् मिटरको नियमित महसुल नतिरेको भन्दै जरिवानासहितको बिल आएको पीडितहरूको गुनासो छ।
विदुर नगरपालिका–७ का वडा अध्यक्ष रबिन्द्र नेपालले सामाजिक सञ्जालमार्फत बाढीले घर र आम्दानीको स्रोत दुवै गुमाएका अवस्थामा विद्युत् महसुलमा जरिवाना थपिएको भन्दै असन्तुष्टि जनाएका छन्। उनले घरमा बस्न सक्ने अवस्था नरहे पनि लाइन तत्काल नकटाउन आग्रह गरेका छन्।
मिटर हटाउन पनि पुलिस रिपोर्ट मागिएको गुनासो
घर नै बाढीले बगाएपछि केही पीडित विद्युत् मिटरको लगत कट्टा गर्न वडा कार्यालयको सिफारिस लिएर प्राधिकरण पुगेका थिए। तर वडा कार्यालयको सिफारिस पर्याप्त नभएको भन्दै पुलिस रिपोर्ट ल्याउन भनिएको उनीहरूको गुनासो छ।
विदुर नगरपालिका–७ तुग्चेका कृष्णप्रसाद पौडेलले बाढीपीडितको कठिन अवस्थामाथि थप प्रशासनिक झन्झट थपिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
प्रभावित ग्राहकको बिलिङ रोक्ने प्राधिकरणको भनाइ
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले बाढीबाट प्रभावित ग्राहकका नाममा प्रणालीबाट स्वचालित रूपमा भ्याट र जरिवानासहितको बिल गएको हुन सक्ने बताएका छन्।
उनका अनुसार प्रभावित तथा विस्थापित ग्राहकको बिलिङ रोक्ने निर्णय भइसकेको छ। सम्बन्धित कार्यालयलाई त्यसबारे जानकारी गराइने उनले बताए। बाढीका कारण कति घरका कति मिटर बगे भन्ने यकिन तथ्यांक भने प्राधिकरणसँग अझै छैन।
प्राधिकरणका अनुसार मिटर औपचारिक रूपमा बन्द नगरेसम्म न्यूनतम शुल्क लाग्ने व्यवस्था छ। तोकिएको समयमा महसुल नबुझाए जरिवाना पनि थपिन्छ। मिटर बन्द गर्न २५० रुपैयाँ शुल्क लाग्ने व्यवस्था प्राधिकरणले जनाएको छ।
तर भोटेकोशी बाढीबाट घर र मिटर नै बगेका पीडितका हकमा यही व्यवस्था कसरी लागू हुने भन्नेबारे प्राधिकरणले छुट्टै सूचना सार्वजनिक गरेको छैन।
सरकारका अनुसार भाद्र १० को बाढीबाट ७ हजार ५०० भन्दा बढी घरमा क्षति पुगेको वा घर बगेको छ। बाढीमा ठूलो मानवीय क्षतिसमेत भएको र कतिपय परिवारले घरसँगै विद्युत् मिटरसमेत गुमाएका छन्।

२२ आश्विन २०८३, बिहीबार १३:३६