जुगल भ्रमण वर्षको सुरुवात हिमाल आरोहणबाट, पर्यटन प्रवर्द्धनका लागि वर्षभरि कार्यक्रम

सिन्धुपाल्चोक, २२ असोज । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले स्थानीय पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले ‘जुगल भ्रमण वर्ष २०८३’ सञ्चालन गर्ने भएको छ। हिमाली प्राकृतिक सुन्दरता, स्थानीय संस्कृति, धार्मिक सम्पदा र साहसिक पर्यटनलाई प्राथमिकता दिँदै विभिन्न कार्यक्रम तय गरिएको गाउँपालिकाले जनाएको छ।

भ्रमण वर्षको औपचारिक उद्घाटन असोज २७ गते हुनेछ। त्यसपछि कात्तिक १० देखि १९ गतेसम्म चर्चित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आरोहीले जुगल हिमालको ‘भ्यू प्वाइन्ट’ आरोहण गर्ने कार्यक्रम छ। गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोका अनुसार हिमाल आरोहणबाट भ्रमण वर्षका गतिविधिलाई अघि बढाइनेछ।

पर्यटनसँगै वातावरण संरक्षणमा समेत जोड दिँदै कात्तिकको पहिलो साता स्थानीय युवा, शिक्षक, जनप्रतिनिधि र गाइडलाई जलवायु परिवर्तनसम्बन्धी तालिम दिइनेछ। कात्तिक ११ देखि १६ गतेसम्म गुम्बा, अम्बाखर्क, लामोपोखरी, स्यावल पोखरी, ताप्कादिङ र नेपेमसाल जोड्ने पदमार्गको सम्भाव्यता तथा पूर्वाधार अध्ययन गरिनेछ। कात्तिक १६ गते राष्ट्रियस्तरको धार्मिक तथा आध्यात्मिक सम्मेलन पनि आयोजना हुनेछ।

मंसिरमा साहसिक गतिविधि र सांस्कृतिक कार्यक्रमलाई प्राथमिकता दिइएको छ। मंसिर २ देखि १५ गतेसम्म एडभान्स माउन्टेन गाइड तालिम, १६ गते हिमाली तथा पहाडी क्षेत्रमा हाइकिङ प्रतियोगिता र १६–१७ गते सांस्कृतिक महोत्सव तथा जुगल फुड फेस्टिभल आयोजना गरिने उपाध्यक्ष हिमाल श्रेष्ठले जानकारी दिए। यस अवधिमा साहसिक साइकल यात्रा र मंसिर २० गते कुम्भेश्वर मेलाका अवसरमा धार्मिक तथा सांस्कृतिक कार्यक्रम पनि सञ्चालन हुनेछन्। मेलामा स्थानीय जातजातिका झाँकी, परम्परागत भेषभूषा र सांगीतिक प्रस्तुति समावेश गरिनेछ।

पुस महिनामा गुम्बा तथा धार्मिकस्थल केन्द्रित कार्यक्रम, जुगल लगानी सम्मेलन र जलवायु परिवर्तन तथा पर्यटनसम्बन्धी अन्तरक्रिया गरिनेछ। लगानी सम्मेलनमार्फत पर्यटन पूर्वाधार, जलस्रोत, कृषि र उद्योग क्षेत्रमा निजी लगानी भित्र्याउने गाउँपालिकाको लक्ष्य छ। पुस २५ र २६ गते समापन कार्यक्रमसँगै मोटरसाइकल र्‍याली पनि आयोजना गरिने कार्यतालिकामा उल्लेख छ।

प्रमुख प्रशासकीय अधिकृत गौरवराज केसीका अनुसार भ्रमण वर्षले जुगल क्षेत्रका हिमाल, पदमार्ग, धार्मिक तथा सांस्कृतिक सम्पदा र स्थानीय खानपानको प्रचारप्रसारमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। पर्यटन गतिविधि विस्तार गरी स्थानीय अर्थतन्त्र बलियो बनाउने र नागरिकको जीवनस्तरमा सुधार ल्याउने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको गाउँपालिकाले जनाएको छ।

२३ आश्विन २०८३, शुक्रबार १२:०४