विश्व गोजु–रियो कराँतेमा नेपालको ११ पदक, सन्ध्यासहित चार खेलाडीले जिते स्वर्ण

काठमाडौं — भारतको पुणेमा आयोजित आठौँ विश्व गोजु–रियो कराँते च्याम्पियनसिपको पहिलो दिन नेपालले चार स्वर्णसहित ११ पदक जितेको छ। नेपाली खेलाडीले चार स्वर्ण, चार रजत र तीन कांस्य पदक हात पार्दै प्रतियोगितामा आफ्नो उपस्थिति देखाएका हुन्।

प्रतियोगितामा सिन्धुपाल्चोककी १५ वर्षीया सन्ध्या श्रेष्ठले ४८ केजी तौल समूहको कुमुते अर्थात् फाइट विधामा स्वर्ण पदक जितेकी छन्। उनले फाइनलमा भारतकी प्रतिस्पर्धीलाई पराजित गर्दै विश्व च्याम्पियनको उपाधि हासिल गरेकी हुन्।

चौतारा साँगाचोकगढी नगरपालिकाबाट बिदाइ भएर प्रतियोगितामा सहभागी भएकी सन्ध्याको सफलताले जिल्ला र देशको प्रतिष्ठा बढाएको नगर प्रमुख कृष्णप्रसाद सापकोटाले बताएका छन्।

सन्ध्यासँगै तीन खेलाडीलाई पनि स्वर्ण

नेपाल गोजु–रियो कराँते संघका प्रमुख प्रशिक्षक बलराम मित्रको नेतृत्वमा नेपाली टोली प्रतियोगितामा सहभागी भएको हो। टोलीले रेफ्री तथा प्रशिक्षकसम्बन्धी सेमिनार पूरा गरेपछि बुधबारदेखि सुरु भएको कुमुते र काता प्रतिस्पर्धामा पदक जितेको हो।

सिन्धुपाल्चोकका प्रशिक्षक निराजन थापा मगरका अनुसार सन्ध्यासँगै मनिषा मगर, विवेक शाही र रविका धामीले पनि आ–आफ्नो तौल समूहमा स्वर्ण पदक जितेका छन्।

चार रजत र तीन कांस्य पनि नेपालको खातामा

प्रतियोगिताको पहिलो दिन कुमुते विधामा पारस बडैली, जनल सार्की, ओनिशा श्रेष्ठ र अन्भी शाहीले रजत पदक प्राप्त गरेका छन्।

त्यस्तै, आङ शाही, मुजोलाइङ लिम्बु र आशिका विकले कांस्य पदक जितेका छन्।

यसरी पहिलो दिनमै ११ पदक जितेको नेपाली टोलीले विश्वस्तरीय कराँते प्रतियोगितामा उत्साहजनक सुरुवात गरेको छ।

२३ आश्विन २०८३, शुक्रबार ११:००