काठमाडौं, २३ असोज । रोजगारीका लागि विदेशिएका नेपाली दसैं मनाउन लामो समयपछि स्वदेश फर्किन थालेका छन्। वर्षौंसम्म परिवारबाट टाढा रहेकाहरू यसपालि आमाबुबाको हातबाट टीका थाप्न, छोराछोरीसँग समय बिताउन र आफ्नै गाउँघरमा चाड मनाउन पाउँदा खुसी छन्। तर, बिदा नमिल्दा धेरै नेपाली श्रमिकले भने यसपटक पनि विदेशमै दसैं मनाउनुपर्ने भएको छ।
कतारमा सात वर्षदेखि सुपरमार्केटमा काम गर्दै आएका नवलपरासीका ३८ वर्षीय दीपक भण्डारी चार वर्षपछि नेपाल आएका हुन्। वैदेशिक रोजगारीमा गएपछि दसैंमा घर आएर आमाको हातबाट टीका लगाउन नपाएका उनी यसपटक परिवारसँग चाड मनाउन पाउने भएपछि उत्साहित छन्। कम्पनीबाट बिदा मिलाउन र टिकटको व्यवस्था गर्न कठिन भएकाले आफ्नो घर फर्किने योजना लामो समयसम्म पूरा हुन नसकेको उनले बताए।
कतारकै एक निर्माण कम्पनीमा कार्यरत सुनसरीका हरिनारायण न्यौपाने १२ वर्षपछि दसैं मनाउन घर आएका छन्। कम्पनीमा धेरै नेपाली कामदार रहेकाले सबैलाई एकैपटक बिदा दिन नसकिने र पालोअनुसार मात्रै घर जान पाउने अवस्था रहेको उनको भनाइ छ। घर आउन नपाउँदा चाड खल्लो लागे पनि कतारमा रहेका नेपालीले सामूहिक रूपमा दसैं मनाउने गरेको उनले सुनाए।
बर्दियाका तिलकप्रसाद कुमाल पनि दस वर्षपछि परिवारसँग दसैं मनाउने तयारीमा छन्। साउदी अरबमा रहँदा उनले क्याम्पभित्रै मकै र जौको जमरा राखेर पूजा गर्ने गरेका थिए। यसपटक भने घरमै जमरा राख्न र श्रीमती तथा छोराछोरीलाई टीका लगाइदिन पाउने भएपछि उनी खुसी छन्।
त्यस्तै, मलेसियाबाट फर्किएका झापाका राजन खड्काले नेपाल आइपुगेपछि सबैभन्दा पहिले आमालाई फोन गरे। ८५ वर्षीया आमालाई छोराको हातबाट टीका लगाइदिने ठूलो इच्छा रहे पनि कोभिड, कामको जिम्मेवारी र आर्थिक समस्याका कारण उनी वर्षौंसम्म दसैंमा घर आउन सकेका थिएनन्। आठ वर्षसम्म भिडियो कलमार्फत मात्रै दसैंको माहोल हेर्नुपर्दा चाडपर्वसमेत खल्लो लाग्ने गरेको उनले बताए।
खोटाङका गणेश राईले पनि दस वर्षपछि छोराछोरीसँगै बसेर दसैं मनाउने अवसर पाएका छन्। बिदाका लागि चार महिनाअघिदेखि नै कम्पनीमा अनुरोध गरेका उनले आवश्यक परे आफ्नै खर्चमा घर फर्किने इच्छा व्यक्त गरेका थिए। यूएईबाट आएका धनुषाका सन्तोष झालाई पनि घर फर्किएपछि मात्रै दसैंको वास्तविक अनुभूति हुने लागेको छ। विदेशमा टीका लगाउने र मिठोमसिनो खाने गरे पनि परिवारसँग आफ्नै घरमा चाड मनाउनुको खुसी अलग हुने उनी बताउँछन्।
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर खाडी मुलुक, मलेसिया र युरोपमा करिब २८ लाख नेपाली कार्यरत रहेको तथ्यांक छ। गत आर्थिक वर्ष २०८२/८३ मा मात्रै ७ लाख ९२ हजार १८७ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए। तर, दसैंका बेला यी सबै श्रमिक घर फर्किन पाउँदैनन्। कम्पनीको बिदा, टिकटको उपलब्धता र आर्थिक अवस्थाले उनीहरूको घर फर्किने अवसर निर्धारण गर्छ।
यसपटक खाडी क्षेत्रमा बढेको सुरक्षा तनावले पनि केही श्रमिकलाई चिन्तित बनाएको छ। साउदी अरबमा १५ वर्षदेखि कार्यरत झापाका रोहितकुमार मगरले हुथी आक्रमणसम्बन्धी खबरले आफ्नो सुरक्षाबारे चिन्ता बढाएको बताए। दसैं मनाएर काममा फर्किंदा आफ्नो कार्यस्थलमा पहिलेजस्तै शान्त वातावरण होस् भन्ने उनको चाहना छ।
उता, कतारको रस्लाफानस्थित ग्यास प्लान्टमा काम गर्ने मोरङका बालकृष्ण बोर्तेल भने यसपालि पनि परिवारबाट टाढै छन्। सात वर्षदेखि घरमा परिवारको हातबाट टीका लगाउन नपाएका उनले घर फर्किएका साथीका तस्बिर देख्दा खुसीसँगै आफू घर जान नपाएको दुःख पनि लाग्ने बताए।
विदेशमा पसिना बगाएर परिवारको आर्थिक अवस्था सुधार्न लागेका श्रमिकका लागि दसैं केवल चाडपर्व होइन, आफ्ना मान्छेसँग भेट्ने र बाल्यकालका सम्झना ताजा बनाउने अवसर पनि हो। त्यसैले उनीहरूका लागि घर फर्किन पाउनु बिदा मनाउनु मात्र नभई परिवार, गाउँ र आफ्नो माटोसँग पुनः जोडिने भावनात्मक क्षण बनेको छ।
२३ आश्विन २०८३, शुक्रबार १३:३६