जनैपूर्णिमा मेलालाई लक्षित गरी इन्द्रध्वज गणले तीन दिन सञ्चालन गरेको स्वास्थ्य सहायता केन्द्रबाट यात्रु तथा पर्यटक लाभान्वित
सिन्धुपाल्चोक । जनैपूर्णिमाको अवसरमा सिन्धुपाल्चोकको पाँचपोखरीमा पुगेका तीर्थयात्री तथा पर्यटकलाई लक्षित गर्दै नेपाली सेनाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य सहायता केन्द्रबाट ७ सय २१ जनाले सेवा लिएका छन्।
पाँचपोखरीमा जनैपूर्णिमाका दिन धार्मिक मेला लाग्ने भएकाले देशका विभिन्न क्षेत्रबाट ठूलो संख्यामा श्रद्धालु पुग्ने गर्छन्। दुर्गम भूगोलमा पर्ने तीर्थस्थलसम्मको यात्राका क्रममा स्वास्थ्यसम्बन्धी समस्या आउन सक्ने अवस्थालाई ध्यानमा राखेर नेपाली सेनाको इन्द्रध्वज गणले भदौ १० देखि १२ गतेसम्म स्वास्थ्य सहायता केन्द्र सञ्चालन गरेको थियो।
तीन दिन सञ्चालन भएको शिविरमा न्यासिम पार्टी क्षेत्रमा ३ सय ६१ जना र पाँचपोखरी क्षेत्रमा ३ सय ६० जनाले स्वास्थ्य सेवा लिएका थिए। सेनाका अनुसार सेवा लिनेहरूलाई स्वास्थ्य परीक्षणसँगै आवश्यकताअनुसार औषधि तथा प्राथमिक उपचार उपलब्ध गराइएको थियो।
तीर्थयात्राका क्रममा स्वास्थ्यमा समस्या देखिएपछि तत्काल उपचारको सुविधा पाउँदा यात्रुहरूलाई सहज भएको स्थानीय सिमिर तामाङले बताए। दुर्गम क्षेत्रमा उपचारको पहुँच सीमित हुने अवस्थामा बाटोमै स्वास्थ्य सहायता उपलब्ध हुँदा यात्रुमा देखिने स्वास्थ्यसम्बन्धी चिन्ता कम भएको उनको भनाइ छ।
तामाङका अनुसार यात्रामा बिरामी परे कहाँ उपचार गर्ने भन्ने अन्योल हुने गरे पनि यसपटक बाटोमै स्वास्थ्यकर्मी तथा औषधिको व्यवस्था हुँदा यात्रुहरूले तत्काल राहत पाएका थिए।
त्यस्तै, पर्यटक उदय खड्काले धार्मिक तथा पर्यटकीय गन्तव्यमा ठूलो संख्यामा मानिस पुग्ने समयमा स्वास्थ्य सेवा उपलब्ध गराउनु आवश्यक रहेको बताए। विशेषगरी कठिन बाटो हुँदै पुग्नुपर्ने स्थानमा अचानक स्वास्थ्य समस्या देखिए तत्काल उपचार पाउने व्यवस्था हुनु महत्वपूर्ण हुने उनको भनाइ छ।
पाँचपोखरीमा जनैपूर्णिमाका अवसरमा प्रत्येक वर्ष धार्मिक गतिविधिसँगै पर्यटकको चापसमेत बढ्ने गरेको छ। यस्तो समयमा यात्रु तथा पर्यटकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर सञ्चालन गरिएको सेनाको स्वास्थ्य सहायता केन्द्रले सामान्य स्वास्थ्य समस्या तत्काल सम्बोधन गर्न सहयोग पुगेको स्थानीयको भनाइ छ।
धार्मिक यात्रामा आउने सर्वसाधारणलाई लक्षित गरी गरिएको यस्तो स्वास्थ्य सेवाले दुर्गम क्षेत्रमा तीर्थयात्रालाई थप सुरक्षित र व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
१५ भाद्र २०८३, सोमबार ०८:००