मेलम्ची नगरपालिकामा भूमि व्यवस्थापन शाखा सञ्चालनमा
जनतापत्र,सिन्धुपाल्चोक ।
मेलम्ची नगरपालिकाले भूमि व्यवस्थापनसम्बन्धी सेवा प्रवाहलाई थप व्यवस्थित, छरितो र सेवाग्राहीमैत्री बनाउने उद्देश्यसहित भूमि व्यवस्थापन शाखा सञ्चालनमा ल्याएको छ।
नगर प्रमुख आइतमान तामाङ र उपप्रमुख उमा प्रधानले संयुक्त रूपमा शाखाको औपचारिक शुभारम्भ गरेका हुन्। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, नगरपालिकाका १३ वटै वडाका अध्यक्ष, विभिन्न शाखाका कर्मचारी तथा सरोकारवालाको उपस्थिति रहेको थियो।
शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख तामाङले नागरिकले जग्गासम्बन्धी सेवा सहज, प्रभावकारी र समयमै प्राप्त गर्न सकून् भन्ने उद्देश्यले शाखा स्थापना गरिएको बताउनुभयो। उहाँले स्थानीय तहबाट प्रदान गरिने सेवा थप गुणस्तरीय र उत्तरदायी बनाउँदै लैजाने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
उपप्रमुख उमा प्रधानले भूमि व्यवस्थापनका कार्यमा पारदर्शिता, सुशासन र सेवाग्राहीको सहज पहुँचलाई प्राथमिकतामा राखेर काम गरिने बताउँदै नयाँ शाखाले सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो।
नगरपालिकाका अनुसार शाखा सञ्चालनमा आएपछि जग्गासम्बन्धी विभिन्न प्रशासनिक कार्यहरू एकीकृत र व्यवस्थित रूपमा सञ्चालन हुनेछन्। यसबाट सेवाग्राहीले छिटो, सहज र भरपर्दो सेवा प्राप्त गर्ने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ।
१८ असार २०८३, बिहीबार ०५:२६