इर्खुमा उन्नत जातका फलफूलका बिरुवा वितरण गरिने

जनतापत्र, सिन्धुपाल्चोक

चौतारा साँगाचोकगढी नगरपालिका–८ इर्खुमा उन्नत जातका फलफूलका बिरुवा वितरण गरिने भएको छ। चौतारा साँगाचोकगढी नगरपालिका–८ को आर्थिक सहयोग तथा स्थानीय कृषकहरूको साझेदारीमा सञ्चालित कार्यक्रमअन्तर्गत खुर्पानी, अम्बा, कागती र जुनारका उन्नत प्रजातिका बिरुवा सहकारी संस्थामार्फत वितरण गर्न लागिएको हो।

सहकारी संस्थाले जारी गरेको सूचनाअनुसार बिरुवाहरू संस्थामा आइपुगेकाले सम्बन्धित कृषकहरूलाई भोलि बिहान नागरिकताको प्रतिलिपीसहित उपस्थित भई आफ्नो भागको बिरुवा लिन आग्रह गरिएको छ। वितरण प्रक्रिया व्यवस्थित र पारदर्शी बनाउन प्रत्येक कृषकले नागरिकताको प्रतिलिपी अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने जनाइएको छ।

कार्यक्रमको उद्देश्य स्थानीय क्षेत्रमा व्यावसायिक फलफूल खेतीलाई विस्तार गर्नुका साथै कृषकको आयआर्जन वृद्धि गर्नु रहेको बताइएको छ। उन्नत जातका बिरुवा वितरणबाट उत्पादन वृद्धि, बगैँचा विस्तार तथा कृषिमा आत्मनिर्भरता हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

वडा कार्यालय र सहकारी संस्थाले कृषकहरूलाई समयमै उपस्थित भई उपलब्ध गराइने बिरुवाको सदुपयोग गर्न आग्रह गरेका छन्। स्थानीय सरकारको सहयोगमा सञ्चालन गरिएको यस्तो कार्यक्रमले फलफूल उत्पादन वृद्धि, कृषकको आर्थिक अवस्था सुधार तथा व्यावसायिक कृषि विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

१६ असार २०८३, मंगलवार ११:५७