जनतापत्र, सिन्धुपाल्चोक ।
चौतारा साँगाचोकगढी नगरपालिका–१३, रातामाटेमा सञ्चालन गरिएको ४५ दिने गलैंचा बुन्ने सीपमूलक तालिम सम्पन्न भएको छ। स्थानीयवासीलाई व्यावसायिक सीप प्रदान गरी स्वरोजगार र आयआर्जनमा जोड्ने उद्देश्यले सञ्चालन गरिएको तालिम समापन कार्यक्रममा प्रशिक्षार्थीहरूलाई आवश्यक सामग्रीसमेत वितरण गरिएको थियो।


समापन कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा वडा नं. १३ का अध्यक्ष रामप्रसाद गौतम, वडा सदस्य धनबहादुर श्रेष्ठ तथा स्थानीय जनप्रतिनिधि, प्रशिक्षक, प्रशिक्षार्थी र सर्वसाधारणको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सापकोटाले सीपमूलक तालिमले स्थानीय नागरिकलाई आत्मनिर्भर बन्न सहयोग पुग्ने बताउनुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै गलैंचा उत्पादनलाई व्यावसायिक रूपमा अगाडि बढाउन आग्रह गर्नुभयो। नगरपालिकाले रोजगारी सिर्जना र उद्यमशीलता प्रवद्र्धनका लागि आगामी दिनमा पनि यस्ता सीपमूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

वडा अध्यक्ष रामप्रसाद गौतमले तालिमले विशेषगरी महिलाहरू र बेरोजगार युवाहरूलाई आर्थिक रूपमा सबल बन्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले तालिममा सिकेको सीपलाई उत्पादन र बजारसँग जोड्न वडा कार्यालयले आवश्यक सहजीकरण गर्ने जानकारी दिनुभयो।
तालिम अवधिभर सहभागीहरूले गलैंचा बुन्ने आधुनिक तथा व्यावसायिक प्रविधिबारे व्यावहारिक अभ्यास गरेका थिए। समापन कार्यक्रममा प्रशिक्षार्थीहरूलाई गलैंचा उत्पादनका लागि आवश्यक सामग्री हस्तान्तरण गरिएको थियो, जसबाट उनीहरूले सीपलाई तत्काल व्यवहारमा लागू गर्न सहज हुने अपेक्षा गरिएको छ।

स्थानीय सहभागीहरूले यस्ता सीपमूलक तालिमले गाउँमै रोजगारी र आयआर्जनको अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन्। नगरपालिकाले सञ्चालन गरेका यस्ता कार्यक्रमले स्थानीय उत्पादन प्रवद्र्धन, महिला सशक्तीकरण तथा स्वरोजगार विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
१६ असार २०८३, मंगलवार १२:४१