जनतापत्र,सिन्धुपाल्चोक ।
२३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा चौतारा साँगाचोकगढी नगरपालिका–१३, ठूलोसिरुबारीमा आधुनिक कृषि प्रविधिको प्रयोगसहित विशेष कार्यक्रम आयोजना गरिएको छ। ‘धान उत्पादनमा वृद्धिः खाद्य सुरक्षा र समृद्धि’ भन्ने राष्ट्रिय नारालाई आत्मसात् गर्दै आयोजित कार्यक्रममा कृषिमा प्रविधिको प्रयोग र उन्नत बीउको महत्वबारे जानकारी गराइएको थियो।

कृषि विकास कार्यालय धुलिखेल, चौतारा साँगाचोकगढी नगरपालिका तथा खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमलाई स्थानीय कृषि सहकारी संस्थाले सहजीकरण गरेको थियो।
कार्यक्रममा नगर प्रमुख कृष्णप्रसाद सापकोटाले आधुनिक प्रविधिबाट धान रोपाइँको शुभारम्भ गर्दै उत्पादन वृद्धि, श्रमको बचत र कृषिलाई व्यावसायिक बनाउन यान्त्रिकीकरण अपरिहार्य रहेको बताउनुभयो। उहाँले स्थानीय सरकारले कृषकलाई नयाँ प्रविधिसँग जोड्न आवश्यक सहयोग र प्रोत्साहनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

रोपाइँ महोत्सवमा सेमी–अटोमेटेड राइस ट्रान्सप्लान्टर मेसिनमार्फत धान रोपाइँको प्रदर्शन गरिएको थियो। यस प्रविधिबाट कम समय, कम श्रम र प्रभावकारी रूपमा धान रोप्न सकिने जानकारी कृषि प्राविधिकहरूले दिएका थिए।
कार्यक्रममा विभिन्न उन्नत धानका जातहरूको प्रदर्शनी पनि राखिएको थियो। स्थानीय माटो र हावापानीअनुसार उपयुक्त बीउ छनोट गर्न कृषकलाई सहयोग पुग्ने उद्देश्यले उन्नत जातका बीउ तथा आवश्यक प्राविधिक जानकारी उपलब्ध गराइएको आयोजकले जनाएको छ।
यसका साथै स्थानीय कृषकलाई धानको उन्नत बीउ, मलखाद तथा सूक्ष्म पोषकतत्त्वसमेत उपलब्ध गराइएको थियो। नयाँ प्रविधि र उन्नत बीउको प्रयोगले उत्पादन बढाउनुका साथै खेतीको लागत घटाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

रोपाइँ महोत्सवमा जनप्रतिनिधि, कृषि क्षेत्रका प्राविधिक, सहकारीकर्मी तथा ठूलो सङ्ख्यामा कृषकहरूको सहभागिता रहेको थियो। असारे गीत, हिलो खेल र सामूहिक रोपाइँसँगै मनाइएको महोत्सवले राष्ट्रिय धान दिवसलाई कृषिप्रति जनचासो अभिवृद्धि गर्ने अवसरका रूपमा स्थापित गरेको सहभागीहरूले बताएका छन्।
१६ असार २०८३, मंगलवार १३:४१