जनतापत्र,सिन्धुपाल्चोक ।
जुगल गाउँपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा सञ्चालन गरिएको १५ दिने Basic Mountaineering Training सुरक्षित रूपमा सम्पन्न भएको छ। हिमाली पर्यटन प्रवद्र्धन, स्थानीय युवाको सीप विकास तथा पर्वतीय क्षेत्रमा सुरक्षित आवागमन र उद्धारसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा सहभागीहरूले आधारभूत पर्वतारोहणका विविध पक्षबारे व्यवहारिक प्रशिक्षण प्राप्त गरेका थिए।

तालिममा पर्वतारोहणका लागि आवश्यक सुरक्षा सावधानी, डोरीको प्रयोग, हिँडाइ प्रविधि, क्याम्प व्यवस्थापन, मौसमको जानकारी, प्राथमिक उपचार तथा आपतकालीन उद्धारसम्बन्धी अभ्यास गराइएको थियो। प्रशिक्षकहरूले हिमाली क्षेत्रमा यात्रा गर्दा अपनाउनुपर्ने सुरक्षा मापदण्ड र जोखिम न्यूनीकरणका उपायबारे समेत जानकारी दिएका थिए।

समापन कार्यक्रममा जुगल गाउँपालिकाका जनप्रतिनिधि, नेपाल पर्यटन बोर्डका प्रतिनिधि, प्रशिक्षक तथा सहभागीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै वक्ताहरूले यस्ता तालिमले स्थानीय युवालाई पर्यटन क्षेत्रमा सक्षम बनाउने, साहसिक पर्यटनको सम्भावना विस्तार गर्ने र सुरक्षित पर्वतीय गतिविधि प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

तालिम सफलतापूर्वक सम्पन्न भएपछि सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो। आयोजकका अनुसार आगामी दिनमा पनि स्थानीय आवश्यकता र पर्यटन विकासलाई लक्षित गर्दै यस्ता सीपमूलक कार्यक्रमलाई निरन्तरता दिइनेछ।
१६ असार २०८३, मंगलवार १३:५७