सिन्धुपाल्चोक, असार १५
त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २, जमर्कमा सञ्चालन गरिएको गौरीशंकर पोषण पाठशालाको सिकाइ प्रसारण दिवस तथा समापन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा वडा नं. २ का अध्यक्ष रमेश राउत, वडा नं. ६ का अध्यक्ष रमेश बोहरा, सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधि, सहजकर्ता, स्थानीय समुदाय तथा सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
समापन कार्यक्रममा पोषण पाठशालामार्फत प्राप्त ज्ञान, सीप र अनुभवहरू सहभागीहरूले साझा गरेका थिए। विशेषगरी सन्तुलित आहार, स्वस्थ जीवनशैली, स्थानीय रूपमा उपलब्ध खाद्य पदार्थको अधिकतम उपयोग तथा परिवारको पोषण अवस्थामा सुधार ल्याउने उपायबारे छलफल गरिएको थियो। सहभागीहरूले पोषणसम्बन्धी व्यवहार परिवर्तनका लागि यस्ता कार्यक्रम प्रभावकारी रहेको धारणा व्यक्त गरेका थिए।
प्रमुख अतिथि गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले स्थानीय स्रोत र साधनको उपयोग गर्दै पोषण सुधारमा सबैको साझा प्रयास आवश्यक रहेको बताउनुभयो। उहाँले कुपोषण न्यूनीकरण, बालबालिका तथा गर्भवती र सुत्केरी महिलाको स्वास्थ्य सुधारका लागि यस्ता जनचेतनामूलक तथा व्यवहारमुखी कार्यक्रमलाई गाउँपालिकाले निरन्तर प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
वडा अध्यक्षहरूले पनि पोषण पाठशालाबाट सिकेका ज्ञानलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्दै स्वस्थ परिवार र स्वस्थ समुदाय निर्माणका लागि स्थानीय खाद्य परिकारको प्रवर्द्धन तथा पोषणमैत्री जीवनशैली अपनाउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा सहभागीहरूले पाठशालाबाट प्राप्त सिकाइलाई आफ्ना परिवार र समुदायमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। साथै, पोषण सुधारका क्षेत्रमा स्थानीय सरकार, समुदाय र सरोकारवाला निकायबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै यस्ता कार्यक्रमलाई निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो।
गौरीशंकर पोषण पाठशालाको सिकाइ प्रसारण दिवस तथा समापन कार्यक्रमले पोषणसम्बन्धी जनचेतना अभिवृद्धि, स्वस्थ जीवनशैलीको प्रवर्द्धन तथा स्थानीय खाद्य स्रोतको प्रभावकारी उपयोगमार्फत समुदायको पोषण अवस्थामा सुधार ल्याउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
१६ असार २०८३, मंगलवार १२:०३