स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूको प्रथम प्रदेशस्तरीय भेला सम्पन्न

जनतापत्र,सिन्धुपाल्चोक ।
बागमती प्रदेशभरिका स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूको प्रथम प्रदेशस्तरीय भेला सोमबार सिन्धुपाल्चोकको मेलम्चीमा सम्पन्न भएको छ। स्थानीय तहमा निर्वाह गरिरहेको भूमिका थप प्रभावकारी बनाउने, अनुभव आदानप्रदान गर्ने तथा साझा मुद्दामा एकीकृत धारणा निर्माण गर्ने उद्देश्यले भेला आयोजना गरिएको हो।

मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभा सदस्य युवराज दुलाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकरसहित बागमती प्रदेशका विभिन्न स्थानीय तहका उपप्रमुख, उपाध्यक्ष, जनप्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

भेलामा स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूको संवैधानिक भूमिका, अधिकार, जिम्मेवारी र कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउने विषयमा व्यापक छलफल गरिएको थियो। सहभागीहरूले स्थानीय सरकार सञ्चालनका क्रममा भोग्नुपरेका चुनौती, सफल अभ्यास तथा समाधानका उपायहरूबारे आफ्ना अनुभव साझा गरेका थिए।

कार्यक्रममा अन्तरपालिका समन्वयलाई सुदृढ बनाउने, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने तथा स्थानीय तहमा महिला नेतृत्वको क्षमता अभिवृद्धि गर्दै निर्णय प्रक्रियामा सक्रिय सहभागिता सुनिश्चित गर्ने विषयमा विशेष जोड दिइएको थियो।

सहभागीहरूले यस्ता प्रदेशस्तरीय भेलाले स्थानीय तहबीच सहकार्य, सिकाइ र समन्वयलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि नियमित रूपमा यस्ता कार्यक्रम आयोजना गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

१६ असार २०८३, मंगलवार १४:०८