७४ करोड ८५ लाख बजेटसहित बाह्रबिसे नगरपालिकाको १९ औँ नगरसभा सम्पन्न

जनतापत्र,बाह्रबिसे ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ का लागि ७४ करोड ८५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९ औँ नगरसभामा उपप्रमुख बालकृष्ण बस्नेतले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको हो।

नगरसभामा प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, पर्यटन प्रवद्र्धन तथा सामाजिक विकासलाई प्राथमिकतामा राखेको छ। यस वर्षका कार्यक्रममध्ये भोट भाषा शिक्षण कार्यक्रम विशेष आकर्षणका रूपमा रहेको छ। स्थानीय भाषा, संस्कृति र पहिचान संरक्षण गर्ने उद्देश्यले विद्यालय तथा समुदायस्तरमा भोट भाषा शिक्षणलाई प्रवद्र्धन गरिने जनाइएको छ।

कृषि क्षेत्रको आधुनिकीकरण तथा किसानलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले कृषि एम्बुलेन्स सञ्चालन गर्ने योजना पनि बजेटमा समावेश गरिएको छ। किसानले उत्पादन गरेका कृषि उपजको बजारीकरणलाई सहज बनाउन बिक्री कक्ष स्थापना गरिने भएको छ।

शिक्षा क्षेत्रमा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीलाई निःशुल्क दिवा खाजा उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिइएको छ। यसले विद्यालयमा विद्यार्थीको नियमित उपस्थिति बढाउन तथा पोषण अवस्थामा सुधार ल्याउन सहयोग पुग्ने विश्वास गरिएको छ।

स्वास्थ्य क्षेत्रतर्फ महिला स्वास्थ्य स्वयंसेविकाको योगदानलाई सम्मान गर्दै उनीहरूको सेवा सुविधा वृद्धि गर्ने कार्यक्रम पनि बजेटमा समेटिएको छ। स्वयंसेविकाको मासिक प्रोत्साहन भत्ता वृद्धि गरिने नगरपालिकाले जनाएको छ।

नगरसभामा प्रस्तुत बजेटले स्थानीय उत्पादन, रोजगारी सिर्जना, सामाजिक सुरक्षा, विपद् व्यवस्थापन तथा दिगो विकासका कार्यक्रमलाई समेत समेटेको छ। जनप्रतिनिधिहरूले बजेट कार्यान्वयनमा पारदर्शिता, जवाफदेहिता र नागरिक सहभागितालाई प्राथमिकतामा राखिने प्रतिबद्धता व्यक्त गरेका छन्।

नगरपालिकाका अनुसार आगामी आर्थिक वर्षको बजेटले स्थानीय आवश्यकतालाई सम्बोधन गर्दै समृद्ध, आत्मनिर्भर र विकासोन्मुख बाह्रबिसे निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।

११ असार २०८३, बिहीबार ०८:३३