नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा लिग चरणका १८ खेल सम्पन्न हुँदा पनि कुनै टोलीले प्ले–अफमा आफ्नो स्थान सुरक्षित गर्न सकेको छैन। अब १० खेल मात्र बाँकी रहँदा आठवटै टोलीको अर्को चरण पुग्ने सम्भावना गणितीय रूपमा कायम छ। शीर्ष स्थानदेखि सातौँ स्थानसम्मका टोलीबीच जम्मा तीन अंकको अन्तर रहेकाले प्ले–अफको प्रतिस्पर्धा थप रोमाञ्चक बनेको छ।
अहिलेसम्मको प्रदर्शन हेर्दा लुम्बिनी लायन्स, काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स तुलनात्मक रूपमा बलिया देखिएका छन्। चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स र विराटनगर किंग्स भने प्ले–अफको दौडमा रहन थप जित निकाल्नुपर्ने दबाबमा छन्। पोखरा एभेन्जर्सको अवस्था सबैभन्दा कमजोर छ।
प्रतियोगितामा आठ अंकलाई प्ले–अफ प्रवेशका लागि सुरक्षित मान्न सकिए पनि त्यति अंक जोड्दैमा अर्को चरण पुग्ने निश्चित छैन। कमजोर अंकतालिकाका बीच कुनै टोलीले अप्रत्याशित नतिजा निकाले समीकरण फेरिन सक्छ। त्यसैले बाँकी खेल सबै टोलीका लागि महत्त्वपूर्ण हुनेछन्।
लुम्बिनी लायन्स : शीर्ष स्थान जोगाउने चुनौती
डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स पाँच खेलबाट सात अंक जोड्दै तालिकाको पहिलो स्थानमा छ। काठमाडौं गोर्खाजसँगको पछिल्लो हारअघि लगातार राम्रो प्रदर्शन गरिरहेको लुम्बिनीले १० खेलपछि पहिलो पराजय बेहोरेको हो।
रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीलाई प्ले–अफ पुग्ने अवसर आफ्नै हातमा छ। बाँकी दुई खेलमध्ये एउटा जित निकाल्न सके पनि उसलाई लिग चरण पार गर्न सहज हुन सक्छ। तर अहिलेसम्मको प्रदर्शनकै आधारमा ढुक्क हुने अवस्था भने छैन। लुम्बिनीले अब कर्णाली याक्स र विराटनगर किंग्ससँग प्रतिस्पर्धा गर्न बाँकी छ।
काठमाडौं गोर्खाज : लगातार जितले बढाएको आत्मविश्वास
अहिलेसम्मको प्रदर्शनका आधारमा काठमाडौं गोर्खाज तुलनात्मक रूपमा सहज अवस्थामा देखिएको छ। प्रतियोगिताको पहिलो खेलमा कमजोर प्रदर्शन गरेको काठमाडौंले त्यसपछि लगातार तीन खेल जित्दै आफ्नो लय सुधार गरेको छ।
डेभिड वार्नरको टोलीमा आगमनपछि काठमाडौंको प्रदर्शनमा सकारात्मक प्रभाव देखिएको छ। चार खेलबाट छ अंक जोडेको टोली तालिकाको दोस्रो स्थानमा छ। थप एक जितले उसलाई प्ले–अफ नजिक पुर्याउनेछ।
कर्णाली याक्सविरुद्ध ठूलो लक्ष्य पछ्याउँदै हासिल गरेको जित काठमाडौंका लागि विशेष उपलब्धि बनेको छ। करण केसीको नेतृत्वमा रहेको टोलीले अब चितवन राइनोज, सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्ससँग खेल्न बाँकी छ। वार्नर टोलीमा कति समयसम्म रहनेछन् भन्ने विषय पनि काठमाडौंका लागि महत्त्वपूर्ण हुन सक्छ।
सुदूरपश्चिम रोयल्स : पुरानो लय फर्काउने प्रयास
अघिल्ला दुई सिजनमा लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको सुदूरपश्चिम रोयल्सले यसपटक भने अपेक्षाअनुसारको लय कायम राख्न सकेको छैन। दुई खेलमा पराजित भइसकेको टोली तीन जितसहित छ अंक जोडेर तेस्रो स्थानमा छ।
विराटनगरसँग पाँच ओभरमा सीमित भएको खेलमा बेहोरेको हारले टोलीलाई निराश बनाएको हुन सक्छ। यद्यपि त्यसपछिका दुई जितले सुदूरपश्चिमको आत्मविश्वास बढाएको छ।
अब टोलीले जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजसँग प्रतिस्पर्धा गर्नेछ। यी खेलमा नतिजा आफ्नो पक्षमा पार्न नसके प्ले–अफ समीकरण कठिन बन्न सक्छ। प्रशिक्षक मिसबह उल–हक भने टोलीको आगामी यात्राप्रति आशावादी देखिएका छन्।
चितवन राइनोज : तीन खेलमा अवसर
चितवन राइनोजको प्रदर्शन यसपटक मिश्रित रहेको छ। चार खेलमध्ये दुईमा जित, एउटामा हार र अर्को खेलमा नतिजा नआएपछि टोलीले पाँच अंक जोडेको छ। चितवन अहिले तालिकाको चौथो स्थानमा छ।
पहिलो संस्करणमा इलिमिनेटरसम्म पुगेको चितवन दोस्रो सिजन भने लिग चरणबाटै बाहिरिएको थियो। त्यसबेला अन्तिम चार खेल लगातार गुमाएको टोलीले यसपटक भने तुलनात्मक रूपमा सुधारिएको प्रदर्शन गरेको छ। पोखराविरुद्धको पछिल्लो जितले टोलीको मनोबल बढाएको हुन सक्छ।
चितवनका अझै तीन खेल बाँकी छन्। उसले काठमाडौं गोर्खाज, जनकपुर बोल्ट्स र कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ। यी तीनवटै टोली प्ले–अफको दौडमा रहेकाले चितवनका लागि आगामी खेल सहज हुने देखिँदैन।
जनकपुर बोल्ट्स : जित्नैपर्ने दबाब
पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्स यसपटक अपेक्षित लयमा देखिएको छैन। पाँच खेल खेलेको टोलीले दुईमा मात्र जित निकाल्न सकेको छ। चार अंकसहित तालिकाको पाँचौँ स्थानमा रहेको जनकपुरले पछिल्ला दुई खेल लगातार गुमाएको छ।
सुरुका तीन खेलसम्म टोलीको अवस्था राम्रो देखिए पनि त्यसपछिका पराजयले प्ले–अफको यात्रा कठिन बनाएको छ। अब जनकपुरले सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाजसँग खेल्न बाँकी छ। यी दुवै खेलमा राम्रो नतिजा निकाल्नु टोलीका लागि आवश्यक देखिन्छ।
प्रशिक्षक शिवनारायण चन्द्रपालले पनि आगामी खेलमा टोलीले उल्लेखनीय प्रदर्शन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
कर्णाली याक्स : सुरुआती सफलता कायम राख्न सकेन
कर्णाली याक्सले प्रतियोगिताका सुरुआती दुई खेल जित्दै राम्रो सुरुआत गरेको थियो। तर पछिल्ला दुई खेलमा लगातार पराजित भएपछि टोली दबाबमा परेको छ। चार खेलबाट चार अंक जोडेको कर्णाली तालिकाको छैटौँ स्थानमा छ।
काठमाडौं गोर्खाजसँगको खेलमा बेहोरेको हार कर्णालीका लागि महँगो साबित भएको छ। अब टोलीले पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स र चितवन राइनोजसँग खेल्न बाँकी छ।
प्ले–अफमा पुग्न कर्णालीलाई बाँकी तीन खेलमध्ये कम्तीमा दुईमा जित आवश्यक देखिन्छ। त्यसैले पोखराविरुद्धको आगामी खेल टोलीका लागि महत्त्वपूर्ण हुनेछ। दक्षिण अफ्रिकी खेलाडी डेभिड मिलरको उपस्थितिले पनि कर्णालीको मनोबल बढाउन सक्छ। उनले सुदूरपश्चिमविरुद्धको पहिलो खेलमै प्रभावशाली प्रदर्शन गरेका थिए।
विराटनगर किंग्स : अबका खेलमा जित अनिवार्य
सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्सले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेको छैन। टोलीको खेलाडी संरचना बलियो भए पनि मैदानमा त्यसअनुसारको नतिजा देखिएको छैन।
पाँच खेलमध्ये दुईमा जित निकालेको विराटनगरले चार अंक जोडेको छ र तालिकाको पुछारबाट दोस्रो स्थानमा छ। सुरुआती खेलमा चितवन र कर्णालीसँग जितको नजिक पुगेर पनि पराजित हुनुपरेको थियो। त्यसपछि दुई जित निकाले पनि काठमाडौंसँगको खेलमा टोलीले कमजोर प्रदर्शन गर्यो।
कप्तान सन्दीप लामिछानेले उक्त खेलमा ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा टोलीको प्रदर्शन कमजोर रहेको प्रतिक्रिया दिएका थिए। अब विराटनगरले पोखरा र लुम्बिनीसँग खेल्न बाँकी छ। प्ले–अफको सम्भावना जोगाउन दुवै खेलमा उत्कृष्ट प्रदर्शन गर्नु टोलीका लागि आवश्यक छ।
२३ कार्तिक २०८३, आईतवार १५:२४