घोप्टेभिरमा पहिरो हटाइयो, पृथ्वी राजमार्गमा दुईतर्फी यातायात सुचारु

चितवन — पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा खसेको सुक्खा पहिरो हटाएपछि सडकमा दुईतर्फी सवारी आवागमन सुरु भएको छ। आइतबार बिहान पहिरो खसेर अवरुद्ध भएको सडक दिउँसो २ः१५ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो।

यसअघि दिउँसो १२ बजेदेखि सडकमा एकतर्फी सवारी सञ्चालन गरिएको थियो। दुईतर्फी आवागमन सुरु भएसँगै पहिरोका कारण रोकिएका सवारीसाधन सहज रूपमा गन्तव्यतर्फ लागेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार सडक एकतर्फी सञ्चालनमा रहँदा सवारीसाधनलाई लामबद्ध गराएर आलोपालो गरी गन्तव्यतर्फ पठाइएको थियो।

नौबिसे–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचिन्द्र मिश्रका अनुसार करिब ३५ मिटर माथिबाट सुक्खा पहिरो खसिरहेकाले सडक सफा गर्न कठिनाइ भएको थियो। उक्त स्थानमा भित्तो काटिएको नभई माथिबाट आफैँ पहिरो खसेको उनले बताए।

पहिरो खसेको क्षेत्र कमजोर रहेकाले जुनसुकै बेला पुनः पहिरो जान सक्ने जोखिम भने कायमै रहेको मिश्रले जानकारी दिएका छन्। त्यसैले उक्त सडकखण्ड भएर यात्रा गर्ने सवारी चालकलाई सतर्कता अपनाउनुपर्ने अवस्था छ।

२३ कार्तिक २०८३, आईतवार १८:०३