एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क कमिटीको शुभकामना आदानप्रदान, देउसीभैलो तथा चियापान कार्यक्रम सम्पन्न


जनतापत्र,काठमाडौं। नेपालीहरूको महान् चाड तिहार, छठ पर्व तथा नेपाल संवत् ११४७ को अवसर पारेर नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क कमिटीले शुभकामना आदानप्रदान, देउसीभैलो तथा चियापान कार्यक्रम आयोजना गरेको छ। काठमाडौंको पेप्सीस्थित खहरेचोकमा रहेको शान बैंक्वेटमा आयोजित कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक, सिन्धुपाल्चोकबाट काठमाडौंमा बसोबास गर्दै आएका विभिन्न पेसा तथा व्यवसायमा आबद्ध व्यक्तिहरूको उपस्थिति रहेको थियो।


कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य हस्त पण्डितले पार्टीलाई बलियो र संगठित बनाउन सबै नेता तथा कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने बताउनुभयो। उहाँले पार्टीमाथि चौतर्फी घेराबन्दी भइरहेको अवस्थामा कार्यकर्ताहरूबीच आपसी एकता, समझदारी र एकमत आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
नेता पण्डितले पछिल्लो समय सामाजिक सञ्जालको प्रभाव बढ्दै गएको उल्लेख गर्दै सामाजिक सञ्जाललाई पार्टीको हित, विचार र सकारात्मक सन्देश प्रवाह गर्ने माध्यमका रूपमा उपयोग गर्न सबैलाई आग्रह गर्नुभयो। पार्टीका नीति, विचार र गतिविधिबारे सही सूचना प्रवाह गर्दै सामाजिक सञ्जालमार्फत सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।


कार्यक्रममा तिहार, छठ तथा नेपाल संवत् ११४७ को अवसरमा एकापसमा शुभकामना आदानप्रदान गरिएको थियो। चाडपर्वले समाजमा आपसी सद्भाव, एकता, भाइचारा र सहकार्यको भावना विकास गर्ने भएकाले यस्ता कार्यक्रमले सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने सहभागीहरूले बताएका थिए।
कार्यक्रममा कलाकारहरू भिमसेन खतिवडा, सुरेन्द्र गिरिलगायतले सांस्कृतिक प्रस्तुति दिएका थिए। कलाकारहरूको प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक र सांस्कृतिक बनाएको थियो। देउसीभैलोमार्फत नेपाली मौलिक संस्कृति, परम्परा र चाडपर्वको महत्त्व उजागर गरिएको थियो।
कार्यक्रमको अध्यक्षता कमिटीका अध्यक्ष द्वारिका प्याकुरेलले गर्नुभएको थियो। उहाँले चाडपर्वका अवसरमा आयोजना गरिने यस्ता भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रमले काठमाडौंमा रहेका सिन्धुपाल्चोकवासीबीच आत्मीयता र एकताको भावना बढाउन सहयोग पुग्ने बताउनुभयो।
सिन्धुपाल्चोकबाट विभिन्न कारणले काठमाडौंमा बसोबास गर्दै आएका नागरिकहरूबीच आपसी सम्बन्ध विस्तार, सामाजिक सद्भाव कायम तथा सांस्कृतिक पहिचानको संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
विशेषगरी राजधानीमा रहेका जिल्लावासीलाई एउटै साझा मञ्चमा जोड्दै सुखदुःख साटासाट गर्ने, आपसी सहयोग र सहकार्यको वातावरण निर्माण गर्ने तथा नयाँ पुस्तालाई नेपाली मौलिक संस्कृति र परम्परासँग परिचित गराउने कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो।
तिहार, छठ र नेपाल संवत् जस्ता पर्वहरूले नेपाली समाजमा विविधता, सहिष्णुता र सांस्कृतिक एकताको सन्देश दिने भएकाले यस्ता कार्यक्रमको सामाजिक महत्त्वसमेत रहेको छ।
कार्यक्रमले सिन्धुपाल्चोकबाट काठमाडौंमा बसोबास गर्ने नागरिक, पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकबीचको सम्बन्धलाई थप सुमधुर बनाउनुका साथै चाडपर्वको मौलिक संस्कृति र परम्परालाई निरन्तरता दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

२२ कार्तिक २०८३, शनिबार १९:३१