दुई दशकपछि एउटै कोर्टमा गुरु–चेला, मेलम्ची मेयर कपमा बने च्याम्पियन

कराते प्रशिक्षणबाट सुरु भएको गुरु–चेलाको सम्बन्ध झन्डै २० वर्षपछि ब्याडमिन्टन कोर्टमा विजयी साझेदारीका रूपमा देखिएको छ। मेलम्चीमा सम्पन्न नगरस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगितामा कराते प्रशिक्षक राजनमान श्रेष्ठ र उहाँका पूर्वविद्यार्थी कृष्णकुमार तामाङ (समीर) को जोडीले प्रथम स्थान हासिल गरेको छ।

प्रतियोगिताको फाइनल खेलमा श्रेष्ठ र तामाङको जोडीले शैलेस खड्का र नेत्र तामाङको जोडीलाई पराजित गर्दै उपाधि जितेको हो।

यो जित खेलको नतिजामा मात्र सीमित छैन। करिब दुई दशकअघि श्रेष्ठसँग कराते सिकेका तामाङले उहाँकै प्रशिक्षणमा ब्ल्याक बेल्टसम्मको यात्रा पूरा गर्नुभएको थियो। अहिले भने पूर्वगुरु र चेला अर्को खेल विधामा एउटै टोली बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए।

कृष्णकुमार तामाङ बागमती प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्यसमेत हुनुहुन्छ। कुनै समय गुरुसँग कराते सिकेका उहाँ यसपटक आफ्नै गुरुसँग ब्याडमिन्टन कोर्टमा जोडी बनेर विजेता बन्न सफल हुनुभयो।

आफूले प्रशिक्षण दिएका पूर्वविद्यार्थीसँग अर्को खेलमा सहकार्य गर्दै उपाधि जित्न पाउँदा प्रशिक्षक श्रेष्ठले खुसी व्यक्त गर्नुभएको छ।

उनीहरूको सफलताले खेलकुद पदक र प्रतिस्पर्धामा मात्र सीमित नरही गुरु–चेलाबीचको सम्मान, विश्वास र आत्मीय सम्बन्धलाई पनि बलियो बनाउने सन्देश दिएको छ।

२३ कार्तिक २०८३, आईतवार १०:१५