रसुवामा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित वित्तीय क्षेत्रलाई पुनः सञ्चालनमा ल्याउन ६५ अर्ब २१ करोड ५७ लाख रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ। राष्ट्रिय योजना आयोगले गरेको क्षति तथा विपद्पछिको आवश्यकता मूल्यांकनमा पुनर्स्थापनाका लागि ठूलो रकम खर्च गर्नुपर्ने देखिएको हो।
आयोगको प्रारम्भिक विवरणअनुसार बाढीले सार्वजनिक र निजी दुवै क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। सार्वजनिक क्षेत्रमा २३ करोड ५० लाख र निजी क्षेत्रमा ११ करोड २० लाख रुपैयाँ बराबरको हानि भएको उल्लेख छ। त्यस्तै, सार्वजनिक क्षेत्रको नोक्सानी ६१ अर्ब ८४ करोड र निजी क्षेत्रको २ अर्ब ८४ करोड रुपैयाँ रहेको मूल्यांकनमा जनाइएको छ।
आयोगका अनुसार सार्वजनिक क्षेत्रको कुल हानि–नोक्सानी ३ अर्ब ७ करोड ५५ लाख रुपैयाँ र निजी क्षेत्रको ६१ अर्ब ९५ करोड ५५ लाख रुपैयाँ बराबर रहेको विवरण छ। समग्रमा बाढी प्रभावित वित्तीय क्षेत्रको पुनर्स्थापनाका लागि सार्वजनिक वित्तसमेत समेटेर ६५ अर्ब २१ करोड ५७ लाख रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ।
१२ बैंकका १७ शाखा प्रभावित
बाढीका कारण रसुवास्थित १२ वटा बैंकका १७ शाखामध्ये १५ वटामा पूर्ण क्षति पुगेको छ भने एउटा शाखा आंशिक रूपमा क्षतिग्रस्त भएको छ। नेपाल बैंकर्स संघका अनुसार ती शाखामा खाता रहेका ७८ हजार २०४ जना निक्षेपकर्ता प्रभावित भएका छन्।
बाढी प्रभावित क्षेत्रमा रहेका बैंकका नौवटा एटीएममा १ करोड १६ लाख ६३ हजार रुपैयाँ नगद थियो। त्यस्तै, बैंकका क्यास भल्टमा १७ करोड २४ लाख र नगद काउन्टरमा १ करोड १७ लाख रुपैयाँ रहेको संघले जनाएको छ। उक्त क्षेत्रमा आठवटा एटीएम काउन्टर रहेकामा अधिकांशमा क्षति पुगेको थियो।
बैंकको भल्ट, नगद काउन्टर र एटीएममा रहेको रकमको बीमा हुने भएकाले त्यसलाई क्षतिको विवरणमा समावेश नगरिएको संघले स्पष्ट पारेको छ।
बैंकको ४ अर्ब ५० करोड निक्षेप र २ अर्ब ४३ करोड कर्जा प्रभावित
बाढी प्रभावित शाखाहरूमा कुल ७८ हजार २०४ निक्षेपकर्ता र २ हजार १२५ ऋणी रहेका थिए। ती शाखामार्फत बैंकहरूले ४ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए भने २ अर्ब ४३ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए।
उक्त कर्जा लगानीमा जलविद्युत् क्षेत्रमा प्रवाह गरिएको कर्जा समावेश छैन। बाढीबाट प्रभावित बैंकहरूमध्ये कृषि विकास बैंकले सबैभन्दा बढी क्षति बेहोरेको देखिएको छ।
कृषि विकास बैंकको त्रिशूली शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो। उक्त शाखामा ग्राहकले प्रयोग गरिरहेका ६४ वटा लकर बक्ससमेत नष्ट भएका थिए। लकरमा राखिएका सामानको बीमा नहुने भएकाले त्यसबाट भएको क्षति ग्राहकले नै बेहोर्नुपर्ने अवस्था छ।
लकरमा ग्राहकले के–कस्ता सामान राखेका थिए भन्ने विवरण बैंकसँग नहुने भएकाले त्यसलाई क्षतिको तथ्यांकमा समावेश गरिएको छैन। तर, सुन धितो राखेर प्रवाह गरिएको कर्जामा धितोस्वरूप राखिएको सुनको बीमा हुने भए पनि त्यसलाई बैंकहरूले क्षतिको विवरणमा गणना गरेका छैनन्।
आठ बैंकका शाखामा पनि क्षति, २६ कर्मचारी सम्पर्कविहीन
बाढीबाट कृषि विकास बैंक, सिटिजन्स बैंक, ग्लोबल आईएमई बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक र सानिमा बैंकका एक–एक शाखा प्रभावित भएका छन्।
त्यसैगरी प्रभु बैंकका दुई तथा एनआईसी एसिया बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका तीन–तीन शाखामा क्षति पुगेको छ। बैंकिङ क्षेत्रसँगै लघुवित्त तथा सहकारी संस्थाहरूमा पनि बाढीले नोक्सानी पुर्याएको छ।
नेपाल बैंकर्स संघका अनुसार बाढी प्रभावित क्षेत्रका बैंकमा कार्यरत २६ जना कर्मचारी अझै सम्पर्कमा आएका छैनन्। यसले भौतिक संरचना र वित्तीय कारोबारमा मात्र नभई मानवीय क्षेत्रमा समेत बाढीको गम्भीर असर परेको देखाएको छ।
२३ कार्तिक २०८३, आईतवार १८:१३