६५ दिने सिलाई कटाई तालिम सम्पन्न


सुनिता रखाल चौतारा
चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालन गरिएको ६५ दिने सिलाई कटाई तालिम सम्पन्न भएको छ ।
सो कार्यक्रम वागमति प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा चौतारा साँगाचोकगढी नगरपालिकाको सम्मन्वयमा, नगर स्तरीय महिला संजालको अयोजनामा सम्पन्न गरीएको हो ।


स्थानीय महिलाहरूलाई सीपमूलक शिक्षा प्रदान गर्दै स्वरोजगार र आत्मनिर्भरतातर्फ उन्मुख गराउने उद्देश्यले सञ्चालन गरिएको तालिमको समापन कार्यक्रम चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यता तथा उपप्रमुख सीता थापाको विशेष आतिथ्यतामा सम्पन्न भएको हो।
समापन कार्यक्रममा बोल्दै नगर प्रमुख सापकोटाले तालिमबाट हासिल गरेको सीपलाई व्यवहारमा प्रयोग गर्दै आयआर्जन र उद्यमशीलतामा जोडिन सहभागीहरूलाई आग्रह गर्नुभयो। उहाँले सीपमूलक तालिमले व्यक्तिको आर्थिक अवस्था सुधार्नुका साथै आत्मनिर्भर समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
त्यसैगरी उपप्रमुख थापाले महिलाहरूको आर्थिक सशक्तीकरणका लागि यस्ता तालिम प्रभावकारी माध्यम भएको उल्लेख गर्दै प्राप्त सीपलाई व्यवसायमा रूपान्तरण गर्न सहभागीहरूलाई प्रेरित गर्नुभयो।


तालिम अवधिभर सहभागीहरूले सिलाई कटाईसम्बन्धी व्यावहारिक तथा सैद्धान्तिक ज्ञान हासिल गरेका थिए। तालिम सफलतापूर्वक सम्पन्न भएसँगै सहभागीहरूमा आत्मविश्वास वृद्धि हुनुका साथै स्वरोजगारका अवसर सिर्जना हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
समापन कार्यक्रममा जनप्रतिनिधि, प्रशिक्षक, सरोकारवाला निकायका प्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

९ असार २०८३, मंगलवार ११:३३