२ वर्षीया बालिका मृत भेटिएपछि सौतेनी आमा अनुसन्धानमा

राजविराज — सप्तरीको शम्भुनाथ नगरपालिका–३, ट्राफिक चोकमा दुई वर्षीया बालिका घरपछाडिको झाडीमा मृत भेटिएपछि घटनाको अनुसन्धान सौतेनी आमातर्फ केन्द्रित भएको छ।

मोहम्मद इरफानकी दुई वर्षीया छोरी खुशी खातुन आइतबार बिहान घरअगाडिबाट हराएकी थिइन्। परिवार र स्थानीयले खोजी गर्ने क्रममा दिउँसो घरपछाडिको झाडीमा बालिकाको शव फेला परेको हो।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा बालिकाकी सौतेनी आमा मुस्कान खातुनको संलग्नतामाथि आशंका देखिएपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार परिवारभित्र यसअघि पनि घरायसी विवाद रहेको खुलेको छ।

बालिकाकी आमा रुबिना खातुनले समेत सौतेनी आमाले छोरीको हत्या गरी झाडीमा फालेको आरोप लगाएकी छन्। यद्यपि घटनाको वास्तविक कारण र मृत्युको प्रकृति भने अनुसन्धान तथा पोस्टमार्टमपछि मात्रै स्पष्ट हुने प्रहरीले जनाएको छ।

बालिका बिहान करिब पौने १० बजेसम्म राजमार्ग छेउमा रहेको घरअगाडि खेलिरहेकी थिइन्। त्यसपछि उनी अचानक बेपत्ता भएकी थिइन्। परिवारले खोजी गर्दा नभेटिएपछि प्रहरीलाई खबर गरिएको थियो।

घटनास्थलमा पुगेको प्रहरी, परिवार र स्थानीयको संयुक्त खोजीका क्रममा घरपछाडिको झाडीमा बालिका घोप्टो परेको अवस्थामा मृत फेला परेकी थिइन्। शव पोस्टमार्टमका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

बालिकाका बुवा भने वैदेशिक रोजगारीमा रहेको प्रहरीले जनाएको छ।

७ भाद्र २०८३, आईतवार १६:२९