राजविराज — सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा दुई वर्षीया बालिका खुशी खातुनको हत्या भएको घटनामा प्रहरीले उनकी सौतेनी आमालाई पक्राउ गरेको छ।
मोहम्मद इरफानकी छोरी खुशी आइतबार घरबाट हराएकी थिइन्। खोजी गर्ने क्रममा करिब दुई घण्टापछि घरपछाडिको झाडीमा उनको शव फेला परेको थियो। शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले हत्याको आरोपमा १९ वर्षीया मुस्कान खातुनलाई पक्राउ गरेको छ। उनी मृतक बालिकाकी कान्छी आमा हुन्। प्रहरीको प्रारम्भिक अनुसन्धानमा हत्या घटनामा मुस्कानकै संलग्नता देखिएको सप्तरीका प्रहरी प्रमुख एसपी रूपक खड्काले बताएका छन्।
प्रहरीका अनुसार मृतकका बुवा मोहम्मद इरफान वैदेशिक रोजगारीका क्रममा कतारमा छन्। इरफानकी जेठी पत्नी बालिकासहित पुर्ख्यौली घरमा बस्दै आएकी थिइन् भने कान्छी पत्नी मुस्कान नजिकै छुट्टै डेरामा बस्दै आएकी थिइन्।
स्थानीयका अनुसार दुई पत्नीबीच सौताको विषयसँगै सम्पत्तिको हकदार को हुने भन्ने विषयमा समेत विवाद हुँदै आएको थियो। घटनाको अघिल्लो दिन पनि उनीहरूबीच विवाद भएको बताइएको छ। यही विवादलाई घटनाको सम्भावित कारणका रूपमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।
एसपी खड्काका अनुसार बालिकाको शरीरमा बाहिरी घाउचोट देखिएको छैन र प्रारम्भिक अनुसन्धानमा घटनामा एक जनाको मात्रै संलग्नता देखिएको छ। यद्यपि मृत्युको वास्तविक कारण पोस्टमार्टम रिपोर्टपछि थप स्पष्ट हुने प्रहरीले जनाएको छ।
बालिका हराएको खबर पाएपछि प्रहरीले खोजी सुरु गरेको थियो। घटना सार्वजनिक भएपछि स्थानीयले विरोधस्वरूप आइतबार केही समय रुपनी बजार बन्द गराएका थिए। अहिले बजार तथा राजमार्गको अवरोध हटिसकेको प्रहरीले जनाएको छ।
७ भाद्र २०८३, आईतवार १९:१२