पुराना दलसँग विगतको हिसाब होइन, अबको ३५ वर्षको योजना ल्याउनुस् : लामिछाने

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलसँग विगत ३५ वर्षको हिसाब माग्दै आलोचना गर्नुभन्दा आगामी ३५ वर्षका लागि स्पष्ट कार्ययोजना बनाउन पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्।

आइतबार काठमाडौंमा आयोजित पार्टीको ‘नीति, संगठन र नेतृत्व’ विषयक कार्यशालालाई सम्बोधन गर्दै लामिछानेले विगतका कमजोरी देखाएर आफूलाई राम्रो साबित गर्ने राजनीति अब पर्याप्त नहुने बताए।

उनले विगतमा अन्य दल र नेतामाथि दोष थोपरेर आफूलाई अब्बल देखाउन सकिने अवस्था भए पनि रास्वपाले अब त्यस्तो बाटो रोज्न नहुने धारणा राखे।

लामिछानेले भने, ‘अब बितेको ३५ वर्षको हिसाब माग्ने होइन, आगामी ३५ वर्षको योजना ल्याउनुपर्छ।’ पुराना दलहरूले विगतमा गरेका सकारात्मक कामको सम्मान गर्दै अब देशको भविष्य निर्माणमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।

उनका अनुसार रास्वपाले विगतको आलोचनामै अल्झिनुभन्दा आगामी पुस्ताका लागि कस्तो देश निर्माण गर्ने भन्ने स्पष्ट दृष्टिकोण र दीर्घकालीन योजना अघि सार्नुपर्छ।

लामिछानेले आगामी ३५ वर्षमा देशलाई कस्तो बनाउने भन्ने जिम्मेवारी अब नयाँ राजनीतिक शक्तिको हातमा रहेको भन्दै त्यसअनुसार नीति, संगठन र नेतृत्वलाई अघि बढाउनुपर्नेमा जोड दिए।

७ भाद्र २०८३, आईतवार १९:१८