काठमाडौँ — बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिकामाथि भएको जघन्य घटनापछि सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ। शनिबार साँझ गृह मन्त्रालयमा भएको छलफलपछि बालिकाको परिवारले उठाएका माग तथा न्यायसँग सम्बन्धित विषयमा सहमति जुटेको हो।
गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रालयका मन्त्री तथा सरकारी प्रतिनिधि र बालिकाका अभिभावकबीच भएको छलफलमा घटनापछि कानुनी सुधार, बालिकाको सालिक निर्माण तथा परिवारको संस्कारअनुसार अन्त्येष्टि गर्ने विषयमा सहमति भएको हो।
सहमतिअनुसार जघन्य अपराधका घटनामा विद्यमान कानुनमा रहेको कसुर र सजायसम्बन्धी व्यवस्था पुनरावलोकन गरिनेछ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले यसका लागि सात सदस्यीय ‘गरिमा न्याय सङ्कल्प समिति’ गठन गर्ने भएको छ। समितिले कानुनमा आवश्यक सुधारका लागि सुझावसहितको प्रतिवेदन सात दिनभित्र सरकारलाई बुझाउनेछ।
यस्तै, पीडित परिवारको मागअनुसार बालिकाको सालिक निर्माणका लागि पहल गर्ने सहमति भएको छ। पूर्वाधार विकास मन्त्रालयले सम्बन्धित स्थानीय तहसँग समन्वय गरी त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाउनेछ।
बालिकाको अन्त्येष्टि परिवारको रीतिरिवाज र संस्कारअनुसार गर्ने विषयमा पनि सरकार र परिवारबीच सहमति भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
सहमति पत्रमा सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार विकासमन्त्री सुनील लम्साल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादी र कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले हस्ताक्षर गरेका छन्।
छलफलमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल पनि सहभागी थिए। पीडित परिवारका तर्फबाट बालिकाका बुवा मनोजकुमार चौधरी र आमा मानमती चौधरीले सहमति पत्रमा हस्ताक्षर गरेका छन्।
सरकार र परिवारबीचको सहमतिले घटनासँग सम्बन्धित न्यायिक प्रक्रिया अघि बढाउने तथा परिवारले उठाएका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ। अब सहमतिअनुसार कानुन पुनरावलोकन, सालिक निर्माणको पहल र अन्त्येष्टिसम्बन्धी काम अघि बढाइनेछ।
७ भाद्र २०८३, आईतवार ११:३७