पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह

काठमाडौँ — मनसुनी वायुको प्रभाव कायमै रहँदा आइतबार देशका अधिकांश भूभागमा मौसम बदली रहने भएको छ। विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभाग तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा वर्षा भइरहेको छ। ती क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको हो।

आज दिउँसो पनि मुलुकका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ। हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ। यस्तै, पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

तराई क्षेत्रका पनि केही स्थानमा वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभाग तथा मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

विशेषगरी कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

रातिको समयमा पनि देशभर सामान्यतया बदली रहने मौसमविद्हरूको अनुमान छ। हिमाली क्षेत्रका केही स्थानमा वर्षासँगै हिमपात हुनसक्ने तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।

भारी वर्षा हुनसक्ने स्थानमा बाढी, पहिरो, भूक्षय तथा गेग्रानसहितको बाढीको जोखिम बढ्न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। वर्षाका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन, स्वास्थ्य र दैनिक जनजीवनमा समेत असर पर्न सक्ने भएकाले सम्बन्धित सबैलाई मौसमसम्बन्धी पछिल्ला सूचना हेर्न अनुरोध गरिएको छ।

७ भाद्र २०८३, आईतवार ११:००