काठमाडौँ । शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा भएको विवादले गम्भीर रूप लिएपछि एक युवकको मृत्यु भएको छ। कुटपिट र धारिलो हतियार प्रहारबाट घाइते भएका २२ वर्षीय वसन्त कालाथोकीको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।
दाङको घोराही उपमहानगरपालिका–१७ स्थायी घर भएका कालाथोकी उक्त होस्टलमै बस्दै आएका थिए।
प्रहरीका अनुसार होस्टलमा विवाद भएपछि कालाथोकीमाथि बाराको कलैया उपमहानगरपालिका–३ का १८ वर्षीय शेखर यादव र करिब २० वर्षीय प्रमित पटेलले कुटपिट गरेका थिए। सो क्रममा धारिलो वस्तुले समेत प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
टाउको र घाँटीमा गम्भीर चोट लागेपछि उनलाई मीनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो। चिकित्सकले उपचारका क्रममा कालाथोकीलाई मृत घोषणा गरेका हुन्।
घटनापछि प्रहरीले शेखर यादवलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। अर्का आरोपित पटेल भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
झडपको वास्तविक कारण अझै खुल्न सकेको छैन। घटनामा अन्य व्यक्ति संलग्न भए/नभएको, प्रयोग भएको हतियार र विवादको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
५ भाद्र २०८३, शुक्रबार १४:२६