कांग्रेस महाधिवेशनको प्रक्रिया रोक्न देउवा र खड्काको सर्वोच्चमा रिट

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद चर्किएका बेला निवर्तमान सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् ।

संस्थापन पक्षले अन्य समूहसँग पर्याप्त छलफल नगरी महाधिवेशनको कार्यतालिका एकपक्षीय रूपमा सार्वजनिक गरेको भन्दै उनीहरूले त्यसलाई रोक्न अदालतको हस्तक्षेप माग गरेका हुन् ।

देउवाको तर्फबाट कांग्रेस नेता दीपक खड्का र पूर्णबहादुर खड्काको तर्फबाट अधिवक्ता श्रवणकुमारले सर्वोच्चमा रिट दर्ताका लागि निवेदन पेस गरेका छन् । कांग्रेस इतर समूहका प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले रिट सर्वोच्चमा पुगेको जानकारी दिएका छन् ।

रिटमा पार्टीले सार्वजनिक गरेको महाधिवेशनसम्बन्धी प्रक्रिया तथा कार्यतालिका कार्यान्वयन नगर्न उत्प्रेषणको आदेश जारी गर्न माग गरिएको छ ।

संस्थापन पक्षले भदौ २४ गतेदेखि वडा अधिवेशन सुरु गर्ने र असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । तर, उक्त तालिका सहमति र छलफलबिना ल्याइएको भन्दै देउवा र डा. शेखर कोइराला पक्षले असन्तुष्टि जनाउँदै आएको छ ।

यसअघि सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकतासम्बन्धी विषयमा पुनरावलोकनको आदेश दिएको थियो । त्यसपछि महाधिवेशनको प्रक्रिया र नेतृत्वबीचको विवाद थप पेचिलो बनेको हो ।

यसैबीच, देउवा र कांग्रेस नेता डा. शेखर कोइरालाबीच शुक्रबार बिहान चुनदेवीमा भेटवार्ता भएको थियो ।

५ भाद्र २०८३, शुक्रबार १४:२१