काठमाडौँ — नेपालमा जापानी इन्सेफलाइटिस (जेई) को संक्रमणले गम्भीर रूप लिँदै गएको छ। पछिल्लो डेढ महिनामा ५९ जनामा संक्रमण पुष्टि हुँदा २१ जनाको मृत्यु भएको छ। मृत्यु र संक्रमितमध्ये अधिकांशले जेईविरुद्धको खोप नलगाएको पाइएको छ।
जेईबाट बाँचेकामध्ये पनि ठूलो संख्यामा दीर्घकालीन अपांगता तथा स्नायु प्रणालीमा समस्या देखिन सक्छ। विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमितमध्ये करिब एक तिहाइको मृत्यु हुने र अर्को एक तिहाइमा स्थायी असर रहने गरेको छ।
हाल कोशी प्रदेश सबैभन्दा बढी प्रभावित देखिएको छ। त्यहाँ २४ संक्रमितमध्ये १० जनाको मृत्यु भएको छ। झापामा मात्रै १० संक्रमितमध्ये ६ जनाको मृत्यु भएको तथ्यांक छ।
जेई क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्छ। धानखेत तथा सुँगुरपालन हुने क्षेत्र आसपासका मानिस बढी जोखिममा रहने स्वास्थ्य अधिकारीहरू बताउँछन्।
बालबालिकालाई नियमित खोप कार्यक्रममार्फत जेई खोप उपलब्ध भए पनि वयस्कका लागि भने खोपको व्यवस्था छैन। बढ्दो संक्रमणलाई ध्यानमा राख्दै सरकारले जोखिमयुक्त क्षेत्रमा वयस्कलाई समेत खोप दिने सम्भावनाबारे अध्ययन गरिरहेको जनाएको छ।
५ भाद्र २०८३, शुक्रबार २१:३९