बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा न्यायको माग गर्दै उनका आमाबुबासहित परिवार सडक धर्नामा बसेका छन्। परिवारको आन्दोलनका कारण वीरगञ्ज–पथलैया सडकखण्ड तेस्रो दिन पनि प्रभावित भएको छ।
प्रशासनले बिहीबार राति स्थानीय प्रतिनिधिसँग सडक खुलाउने विषयमा सहमति गरे पनि गरिमाका परिवारले उक्त सहमति अस्वीकार गरेका छन्। परिवारको जानकारी र स्वीकृतिबिना गरिएको सहमति आफूहरूलाई मान्य नहुने मृतकका बाबु मनोज चौधरीले बताएका छन्।
मनोजले गृहमन्त्री सुधन गुरुङ र कानुनमन्त्री सोबिता गौतम स्वयं घटनास्थलमा आएर कानुन संशोधनसहित दोषीलाई कडा कारबाही गर्ने प्रतिबद्धता जनाउनुपर्ने माग गरेका छन्।
उनका अनुसार छोरीको जघन्य हत्या गर्ने दोषीलाई मृत्युदण्डको व्यवस्था नभएसम्म परिवारले न्याय पाएको महसुस गर्ने अवस्था छैन।
यसअघि घटनामा प्रहरीको लापरबाही भएको भन्दै स्थानीयले इलाका प्रहरी कार्यालय सिमराका प्रमुख डीएसपी दिलिप क्षेत्रीको सरुवाको माग गरेका थिए। मागअनुसार डीएसपी क्षेत्रीलाई प्रहरी प्रधान कार्यालय तानिएपछि प्रशासन र स्थानीयबीच पाँचबुँदे सहमति भएको थियो।
तर, उक्त सहमतिमा परिवारको सहभागिता नरहेको भन्दै मनोजले त्यसलाई अस्वीकार गरेका छन्।
सडक खुलाउने प्रयासस्वरूप प्रशासनले नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरे पनि स्थानीयले परिवारको सहमतिबिना सडक खाली नगराउन आग्रह गरेका छन्। स्थानीयले सडक सञ्चालन आवश्यक भए पनि त्यसका लागि पीडित परिवारसँगै सहमति गर्नुपर्ने बताएका छन्।
५ भाद्र २०८३, शुक्रबार ११:०१