झापा — वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) को संक्रमण बढ्दै गएको छ। जिल्लामा हालसम्म ११ जनामा संक्रमण पुष्टि भएकोमा ६ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।
मृत्यु हुनेमा चार महिला र दुई पुरुष छन्। मेचीनगरमा दुई जनाको मृत्यु भएको छ भने हल्दिबारी, बाह्रदशी, बिर्तामोड र अर्जुनधारामा एक–एक जनाले ज्यान गुमाएका छन्।
संक्रमणका हिसाबले मेचीनगर सबैभन्दा प्रभावित देखिएको छ। त्यहाँ मात्रै पाँच जनामा जेई पुष्टि भएको छ। बिर्तामोडमा दुई तथा हल्दिबारी, बाह्रदशी, कचनकवल र अर्जुनधारामा एक–एक जनामा संक्रमण देखिएको छ।
स्वास्थ्य कार्यालयका अनुसार संक्रमितमध्ये अधिकांश ५० वर्षभन्दा माथिका छन्। संक्रमितमा सात महिनाका शिशुदेखि ४० वर्ष उमेरका व्यक्तिसमेत रहेका छन्। हाल दुई जना उपचाररत छन् भने तीन जना उपचारपछि घर फर्किएका छन्।
स्वास्थ्य कार्यालय झापाका प्रमुख वृजकुमार दासले संक्रमणको अवस्थाबारे विस्तृत प्रतिवेदन तयार गरी सरकारलाई बुझाउने तयारी भइरहेको बताए। उनका अनुसार ३० वर्षभन्दा माथिका सबैलाई जेईविरुद्धको खोप लगाउने योजना अघि बढाइएको छ।
लामखुट्टेको टोकाइबाट सर्ने जेई विशेषगरी वर्षायाममा फैलिने भएकाले सावधानी अपनाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन्। साँझ–बिहान लामखुट्टेको टोकाइबाट जोगिने, घरवरिपरि पानी जम्न नदिने तथा सरसफाइमा ध्यान दिन उनीहरूको सुझाव छ।
ज्वरोसँगै टाउको दुख्ने, बान्ता हुने, बेहोस हुने वा झट्का आउनेजस्ता लक्षण देखिएमा ढिलाइ नगरी स्वास्थ्य संस्था पुग्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन्।
५ भाद्र २०८३, शुक्रबार १२:२२