जाजरकोट । नलगाड नगरपालिका–७ दानेपिपलस्थित डोल्पा–जाजरकोट सडकखण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
बिहीबार साँझ करिब ६ः३० बजे नलगाड नगरपालिका–९ ताँत्राबाट दल्ली बजारतर्फ जाँदै गरेको लु १ च ८२२७ नम्बरको बोलेरो जिप अनियन्त्रित भएर सडकबाट करिब १५ मिटर तल खसेको थियो।
दुर्घटनामा नलगाड–१० का २५ वर्षीय बालकृष्ण बोहरा गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट लगिए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा नलगाड–१० का २६ वर्षीय गणेश ध्यार, २६ वर्षीय मानबहादुर बोहरा, ४० वर्षीया सम्झना गहतरा, ३० वर्षीय राजेन्द्र ध्यार, ५२ वर्षीया रत्नाकुमारी बोहरा र १६ वर्षीय निखिल सुनार घाइते भएका छन्।
दुर्घटनापछि जिप चालक नलगाड–८ हलचौरका २४ वर्षीय विनोद विक भनिने विनबहादुर विक फरार भएका थिए। प्रहरीले खोजी गरी उनलाई सोही रात नियन्त्रणमा लिएको जनाएको छ।
दुर्घटनाग्रस्त जिप घटनास्थलमै रहेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
५ भाद्र २०८३, शुक्रबार १०:५४