जनतापत्र,सिन्धुपाल्चोक ।
चौतारा साँगाचोकगढी नगरपालिकाले नगरभित्रका किसानलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा विभिन्न कृषि सामग्री वितरण गरेको छ। नगरपालिकाले नगरका १४ वटै वडाका किसानलाई सहकारी तथा कृषक समूहको माध्यमबाट कृषि सामग्री हस्तान्तरण गरेको हो।

नगर प्रमुख कृष्णप्रसाद सापकोटा र उपप्रमुख सीता थापाको हातबाट किसान तथा सहकारी र कृषक समूहका प्रतिनिधिलाई अनुदानमा उपलब्ध कृषि सामग्री हस्तान्तरण गरिएको थियो। नगरपालिकाले कृषि उत्पादन वृद्धि, किसानको लागत न्यूनीकरण तथा आधुनिक कृषि प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले सामग्री वितरण कार्यक्रम सञ्चालन गरेको जनाएको छ।
नगरका १४ वटै वडाबाट छनोट भएका किसान, सहकारी तथा कृषक समूहलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रमले कृषि क्षेत्रमा प्रत्यक्ष लाभ पु¥याउने अपेक्षा गरिएको छ। किसानले आफ्नै लगानीमा खरिद गर्नुपर्ने कृषि सामग्रीमा नगरपालिकाले ५० प्रतिशत अनुदान उपलब्ध गराएपछि कृषि व्यवसायमा लागेका किसानलाई आर्थिक राहत मिल्ने विश्वास गरिएको छ।
सामग्री हस्तान्तरण कार्यक्रममा नगर प्रमुख कृष्णप्रसाद सापकोटाले कृषि क्षेत्रलाई नगरपालिकाको प्राथमिकतामा राखिएको बताउँदै किसानको उत्पादन र आम्दानी वृद्धि गर्न स्थानीय सरकारले आवश्यक सहयोग गर्दै जाने धारणा व्यक्त गर्नुभएको थियो। कृषि क्षेत्रको विकासबिना स्थानीय अर्थतन्त्र बलियो हुन नसक्ने भएकाले किसानलाई प्रविधि, सामग्री, सीप र बजारसँग जोड्ने कार्यक्रमलाई प्रभावकारी बनाइने उहाँको भनाइ थियो।

नगर प्रमुख सापकोटाले अनुदानमा प्राप्त सामग्रीको सही सदुपयोग गरी उत्पादन बढाउन किसानलाई आग्रह गर्नुभएको थियो। किसानले अनुदानलाई व्यक्तिगत सुविधा भन्दा उत्पादन वृद्धिको माध्यमका रूपमा लिनुपर्नेमा उहाँले जोड दिनुभएको थियो। नगरपालिकाबाट प्राप्त सहयोगले कृषि उत्पादनमा वृद्धि ल्याउँदै किसानको आयआर्जनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको उहाँले बताउनुभएको थियो।
त्यसैगरी नगर उपप्रमुख सीता थापाले कृषि क्षेत्रमा महिलाको सहभागिता र कृषक समूह तथा सहकारीको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभएको थियो। गाउँघरमा उत्पादन हुने कृषि उपजलाई व्यावसायिक रूपमा अघि बढाउन सकेमा स्थानीय स्तरमै रोजगारी र आम्दानीका अवसर सिर्जना गर्न सकिने उहाँको भनाइ थियो।
उपप्रमुख थापाले किसानले उत्पादन गरेका कृषि उपजको बजारीकरणमा समेत नगरपालिकाले आवश्यक सहजीकरण गर्ने बताउनुभयो। उत्पादन मात्र बढाएर किसानको समस्या समाधान नहुने भएकाले उत्पादन, भण्डारण, प्रशोधन र बजारसम्मको पहुँचलाई सँगसँगै अघि बढाउनुपर्ने उहाँले उल्लेख गर्नुभयो।

नगरपालिकाका अनुसार सहकारी तथा कृषक समूहको माध्यमबाट सामग्री वितरण गर्दा वास्तविक किसानसम्म कार्यक्रमको पहुँच पु¥याउन सहज हुने अपेक्षा गरिएको छ। समूहगत रूपमा कृषि गतिविधि सञ्चालन गर्ने किसानलाई सामग्री उपलब्ध गराउँदा त्यसको सामूहिक प्रयोग र व्यवस्थापनसमेत प्रभावकारी हुने नगरपालिकाको विश्वास छ।
कार्यक्रममा किसान तथा कृषक समूहका प्रतिनिधिहरूले नगरपालिकाबाट प्राप्त अनुदानले कृषि क्षेत्रमा काम गर्न थप उत्साह मिलेको बताएका थिए। पछिल्लो समय कृषि सामग्री, बीउबिजन, उपकरण तथा अन्य आवश्यक सामग्रीको लागत बढ्दै गएको अवस्थामा ५० प्रतिशत अनुदानले किसानको आर्थिक भार घटाउने उनीहरूको भनाइ थियो।
किसानहरूले आगामी दिनमा पनि आवश्यकता र उत्पादनको क्षेत्रअनुसार कृषि सामग्री तथा उपकरणमा अनुदानको व्यवस्था निरन्तर गर्न नगरपालिकासँग आग्रह गरेका छन्। साथै कृषि उत्पादनको बजारीकरण, प्राविधिक परामर्श, तालिम तथा स्थानीय उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने व्यवस्था गर्नुपर्ने उनीहरूको माग थियो।
नगरपालिकाले कृषि क्षेत्रलाई व्यावसायिक र उत्पादनमुखी बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। किसानको माग र आवश्यकताका आधारमा कृषि सामग्री वितरण, सीप तथा प्रविधि हस्तान्तरण, कृषि उत्पादन प्रवद्र्धन र कृषक समूहलाई सहयोग गर्ने कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताइएको छ।
नगरपालिकाका १४ वटै वडाका किसानलाई सहकारी तथा कृषक समूहको माध्यमबाट ५० प्रतिशत अनुदानमा कृषि सामग्री हस्तान्तरण हुनु स्थानीय कृषि क्षेत्रका लागि महत्वपूर्ण कार्यक्रमका रूपमा हेरिएको छ। स्थानीय सरकारको सहयोग, किसानको मेहनत र आधुनिक प्रविधिको उचित प्रयोगलाई एकीकृत गर्न सकेमा कृषि उत्पादन वृद्धि हुनुका साथै किसानको आयआर्जनमा समेत सुधार आउने अपेक्षा गरिएको छ।

नगरपालिकाले अनुदान कार्यक्रमलाई प्रभावकारी बनाउन सामग्रीको प्रयोग तथा उपलब्धिको नियमित अनुगमन गर्ने र वास्तविक किसानलाई प्राथमिकतामा राख्दै आगामी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउँदै किसानको आर्थिक अवस्था सुधार गर्ने लक्ष्यसहित सञ्चालन गरिएको यस कार्यक्रमले चौतारा साँगाचोकगढी नगरपालिकाका १४ वटै वडामा कृषि व्यवसायको प्रवद्र्धनमा योगदान पुग्ने विश्वास गरिएको छ ।
५ भाद्र २०८३, शुक्रबार १६:५०