जनतापत्र, हेलम्बु । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा आयोजित खुला फुटबल प्रतियोगिताको उपाधि आयोजक टिम ‘बी’ ले जितेको छ। देविस्थान युवा क्लबको आयोजनामा विजया दशमी, दीपावली तथा छठ पर्व २०८३ को अवसरमा सञ्चालन गरिएको प्रतियोगिताको फाइनलमा हेलम्बु–५ लाई पराजित गर्दै आयोजक टोलीले उपाधि हात पारेको हो।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको प्रमुख आतिथ्यमा प्रतियोगिताको समापन गरिएको थियो। गाउँपालिकास्तरीय प्रतियोगितामा १७ टोलीले सहभागिता जनाएका थिए। आयोजक भूमेस्थान युवा क्लब ‘ए’ ले तेस्रो स्थान हासिल गरेको आयोजकले जनाएको छ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः ८० हजार, ४० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्। विजेता टोलीलाई ट्रफी, पदक तथा प्रमाणपत्रसमेत प्रदान गरिएको थियो।
समापन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शेर्पाले स्थानीयस्तरमा खेलकुदको विकास र खेलाडीको क्षमता अभिवृद्धिका लागि गाउँपालिकाले विभिन्न प्रतियोगिता सञ्चालन गर्दै आएको बताए। हेलम्बुमा सुविधासम्पन्न खेलमैदानको अभाव रहेको उल्लेख गर्दै उनले आवश्यक खेल पूर्वाधार निर्माणका लागि गाउँपालिका सहयोग गर्न तयार रहेको धारणा राखे।
खेलकुदले स्थानीय युवाको प्रतिभा उजागर गर्नुका साथै अनुशासन र सहकार्यको भावना विकास गर्न सहयोग पुर्याउने अध्यक्ष शेर्पाको भनाइ थियो। हेलम्बुको पहिचान, गौरव र प्रतिष्ठा अझ उँचो बनाउन खेलकुद क्षेत्रले महत्त्वपूर्ण योगदान दिन सक्ने उनले बताए।
कार्यक्रममा गाउँपालिकाको सामाजिक विकास समिति संयोजक क्षिरिङ लामाले फुटबल, भलिबल, कराते र उस्सुजस्ता खेललाई गाउँपालिकाले प्राथमिकतामा राखेको जानकारी दिए। खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहन गर्न आवश्यक सहयोग उपलब्ध गराउन आफूहरू सकारात्मक रहेको उनले बताए।
समापन समारोहमा हेलम्बु गाउँपालिका–७ का वडाध्यक्ष निलबहादुर तामाङ, वडा नं. ५ का अध्यक्ष दीपकुमार तामाङ र वडा नं. २ का अध्यक्ष पेम्बा ह्योल्मोलगायतले खेलकुद गतिविधिले स्थानीय युवालाई सकारात्मक काममा जोड्न र उनीहरूको क्षमता विकास गर्न मद्दत पुग्ने धारणा राखेका थिए।
प्रतियोगिताको समापनलाई थप आकर्षक बनाउन सांगीतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो। कार्यक्रममा लोकगायक प्रदीप रोक्का, स्मृति गौतम र जितु लोप्चनलगायत कलाकारले प्रस्तुति दिएका थिए। कार्यक्रमको सहजीकरण सुनिता लुम्बा र श्याम शर्मा लामिछानेले गरेका थिए।
स्थानीय युवालाई खेलकुदमा सहभागी गराउने, प्रतिभावान् खेलाडी पहिचान गर्ने र गाउँपालिकामा खेलप्रतिको आकर्षण बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। यस्ता प्रतियोगिताले खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर दिनुका साथै स्थानीयस्तरमा खेलकुद संस्कृतिको विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
९ कार्तिक २०८३, आईतवार १८:५१