भोटेकोशी बाढीपीडितलाई प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्रको तेस्रो चरणको राहत

जनतापत्र, नुवाकोट ।

प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र–नेपालले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि तेस्रो चरणको राहत सामग्री उपलब्ध गराएको छ। बाढीपीडितको दैनिक जीवनयापनमा सहजता ल्याउने उद्देश्यले केन्द्रले विभिन्न प्रकारका अत्यावश्यक सामग्री विदुर नगरपालिकालाई उपलब्ध गराएको हो।

केन्द्रले यसअघि दुई चरणमा पनि राहत सामग्री वितरण गरिसकेको छ। विपद् बाट प्रभावित परिवारको पीडामा साथ दिन र उनीहरूको आवश्यकता पूरा गर्न सक्दो सहयोग गर्ने उद्देश्यले तेस्रो चरणको राहत उपलब्ध गराइएको केन्द्रले जनाएको छ।

प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र–नेपालका कार्यकारी निर्देशक चुपबहादुर थापाले बाढीका कारण जनधनको क्षति व्यहोरेका परिवारको दुःखमा केही राहत पुर्‍याउने उद्देश्यले सामग्री उपलब्ध गराइएको बताउनुभयो। विपद्का कारण घरबारविहीन बनेका तथा दैनिक जीवनयापनमा कठिनाइ भोगिरहेका परिवारलाई आवश्यक पर्ने सामग्री छनोट गरी राहतका रूपमा प्रदान गरिएको उहाँले जानकारी दिनुभयो।

केन्द्रले दिगो शान्तिका लागि मेलमिलाप अभियान सञ्चालन गर्दै आएको उल्लेख गर्दै थापाले विपद्का बेला प्रभावित परिवारलाई भेट्न जाँदा केही सहयोग पनि साथमा लैजानुपर्छ भन्ने सोचका साथ राहत सामग्री जुटाइएको बताउनुभयो। उहाँले विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्नु मानवीय दायित्व भएको बताउँदै आफ्नो क्षमताअनुसार प्रभावित परिवारलाई सहयोग पुर्‍याउने प्रयास गरिएको उल्लेख गर्नुभयो। दैनिक जीवनमा आवश्यक पर्ने सामग्री उपलब्ध गराउँदा बाढीपीडित परिवारलाई केही सहजता मिल्ने उहाँको भनाइ छ।

२०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई लक्षित गरी उपलब्ध गराइएको राहत सामग्रीमा पाँच सय थान मास्क, एक हजार पाँच सय थान सेनिटरी प्याड, एक हजार दुई सय थान टुथब्रस, एक हजार दुई सय थान टुथपेस्ट, एक हजार थान साबुन, दुई सय ५० थान ह्यान्डवास र एक सय २० थान चार्जेबल बत्ती रहेका छन्।

त्यसैगरी, दुई सय ५० थान मल्टीप्लग, दुई सय ५० थान खेलौना पुलिस कार, दुई सय ५० थान खेलौना किचेन सेट, ५० थान खेलौना ब्लक सेट, दुई सय ५२ थान प्लास्टिक बल र ५० थान रबर बलसमेत उपलब्ध गराइएको छ।

केन्द्रले व्यक्तिगत सरसफाइ, स्वास्थ्य तथा दैनिक जीवनमा उपयोगी सामग्रीसँगै बालबालिकाका लागि खेलौना सामग्रीसमेत समावेश गरेको छ। बाढीका कारण प्रभावित परिवारले आधारभूत आवश्यकताका सामग्री जुटाउन कठिनाइ भोग्नुपर्ने अवस्थालाई ध्यानमा राखेर राहत सामग्री उपलब्ध गराइएको संस्थाले जनाएको छ।

प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र–नेपालले ‘दिगो शान्तिका लागि उन्नत सम्बन्ध’ भन्ने मूल नाराका साथ प्राकृतिक स्रोतसँग सम्बन्धित विवादको रूपान्तरण, संवाद, सहकार्य र मेलमिलाप प्रवर्द्धनका क्षेत्रमा काम गर्दै आएको छ। समुदायमा उत्पन्न विवादलाई संवाद र समझदारीका माध्यमबाट समाधान गर्न सहजीकरण गर्दै आएको संस्थाले विपद्का समयमा मानवीय सहयोगलाई पनि प्राथमिकता दिएको छ।

बाढीबाट प्रभावित परिवारसम्म राहत सामग्री प्रभावकारी रूपमा पुर्‍याउन स्थानीय तह र सम्बन्धित निकायबीच समन्वय आवश्यक हुन्छ। उपलब्ध सामग्री वास्तविक पीडितसम्म पुग्न सकेमा प्रभावित परिवारको दैनिक जीवनयापनमा सहजता आउने अपेक्षा गरिएको छ। केन्द्रले तीन चरणमा राहत उपलब्ध गराएर बाढीबाट प्रभावित समुदायप्रतिको मानवीय सहयोग र सहकार्यलाई निरन्तरता दिएको छ।

३० आश्विन २०८३, शुक्रबार ०७:४७