रसुवा–भोटेकोशी बाढी : निजी सम्पत्तिमा ७९ अर्ब १७ करोडको क्षति

काठमाडौं । रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीले सर्वसाधारणको निजी सम्पत्तिमा ठूलो क्षति पुर्‍याएको छ। राष्ट्रिय योजना आयोगको प्रारम्भिक सर्वेक्षणअनुसार बाढीका कारण घरपरिवार र व्यवसायको सम्पत्तिमा गरी ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको नोक्सानी भएको अनुमान गरिएको छ।

आयोगले विपद्पछिको आवश्यकता मूल्यांकन (पीडीएनए) का लागि गरेको घरधुरी सर्वेक्षणमा घर, जग्गा, सवारीसाधन, घरायसी सामान, कृषि उपज तथा व्यवसायमा भएको क्षतिको विवरण संकलन गरेको हो। प्रारम्भिक तथ्यांकअनुसार कुल क्षतिमध्ये ६९ अर्ब ५७ करोड रुपैयाँ घरपरिवारको सम्पत्तिमा र नौ अर्ब ६० करोड रुपैयाँ व्यवसाय तथा प्रतिष्ठानमा भएको नोक्सानी हो।

यो अनुमानमा सडक, जलविद्युत् आयोजना, अन्य भौतिक पूर्वाधार, सामाजिक क्षेत्र र वातावरणमा भएको क्षति समावेश छैन। ती क्षेत्रको क्षतिसमेत मूल्यांकन गरेपछि बाढीबाट भएको समग्र नोक्सानीको विस्तृत विवरण आउने आयोगले जनाएको छ।

सर्वेक्षणले रसुवा, नुवाकोट, धादिङ र गोरखाका १५ स्थानीय तहमा बाढीको प्रभाव परेको देखाएको छ। यी जिल्लामा ६ हजार ८१७ घरपरिवार र एक हजार ६३८ व्यवसाय प्रभावित भएका छन्। कुल ३२ हजार ८७२ जना प्रत्यक्ष प्रभावित भएको प्रारम्भिक विवरणमा उल्लेख छ।

प्रभावितमध्ये १६ हजार ७१४ पुरुष र १६ हजार ८० महिला छन्। अन्य लैङ्गिक पहिचान भएका तथा विवरण नखुलेका व्यक्तिको संख्या ७८ रहेको आयोगको तथ्यांक छ।

जिल्लागत विवरणअनुसार नुवाकोटमा सबैभन्दा धेरै क्षति भएको देखिन्छ। त्यहाँ १७ हजार ९५४ जना प्रभावित भएका छन् भने चार हजार १६४ घरपरिवार तथा प्रतिष्ठानले नोक्सानी बेहोरेका छन्। रसुवामा नौ हजार ६७६ जना र एक हजार ९७७ घरपरिवार प्रभावित भएका छन्।

त्यसैगरी धादिङमा चार हजार ५८४ जना तथा एक हजार ५२ घरपरिवार र गोरखामा ६५८ जना तथा १२३ घरपरिवार प्रभावित भएको सर्वेक्षणले देखाएको छ।

जग्गाजमिनमा ३५ अर्बभन्दा बढी क्षति

बाढीबाट भएको निजी सम्पत्तिको क्षतिमध्ये जग्गाजमिनमा सबैभन्दा ठूलो नोक्सानी भएको छ। आयोगका अनुसार तीन हजार ६१० परिवारको ५०८ हेक्टर जमिनमा क्षति पुगेको छ। यसबाट करिब ३५ अर्ब ४४ करोड रुपैयाँ बराबरको नोक्सानी भएको प्रारम्भिक अनुमान छ।

घर रहेको आफ्नै स्वामित्वको जग्गामा १३ अर्ब २६ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ। भवन निर्माणमा गरिएको लगानीको मूल्यांकन गर्दा थप ११ अर्ब ९५ करोड रुपैयाँ बराबरको नोक्सानी देखिएको छ। क्षतिग्रस्त भवनले ओगटेको जमिनको क्षेत्रफल ५४.६५ हेक्टर रहेको आयोगले जनाएको छ।

बाढीले नगद, बहुमूल्य सामग्री, सांस्कृतिक तथा पुरातात्त्विक वस्तुसमेत नष्ट गरेको छ। दुई हजार ३३० परिवारको यस्ता सम्पत्तिमा पाँच अर्ब दुई करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान छ। त्यस्तै, तीन हजार १८७ परिवारका स्थायी घरायसी सामग्रीमा एक अर्ब ४५ करोड रुपैयाँ बराबरको नोक्सानी पुगेको छ।

एक हजार ११५ परिवारका एक हजार ४२३ सवारीसाधनमा एक अर्ब २४ करोड रुपैयाँ बराबरको क्षति भएको छ। अस्थायी प्रकृतिका घरायसी सामानमा दुई हजार ७६९ परिवारको ६६ करोड ३५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ।

कृषि र पशुपालनमा पनि असर

बाढीले कृषि तथा पशुपालनमा निर्भर परिवारको जीविकोपार्जनमा समेत असर पारेको छ। सर्वेक्षणअनुसार लगाइएको बालीमा २३ करोड २१ लाख रुपैयाँ र भण्डारण गरिएको खाद्यान्नमा १० करोड ४१ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ। पशुपन्छी तथा माछापालनमा भएको नोक्सानी २१ करोड ४२ लाख रुपैयाँ अनुमान गरिएको छ।

बाढीमा परी घरपरिवारले पालेका ६६४ ठूला पशु, चार हजार ६०१ साना पशु र ६३ हजार ६३३ पन्छी नष्ट भएका छन्। त्यस्तै, २४ हजार ५०८ किलो माछा नोक्सान भएको आयोगको विवरणमा उल्लेख छ।

चार हजारभन्दा बढी भवनमा क्षति

आयोगको प्रारम्भिक सर्वेक्षणमा तीन हजार ९६७ घरधनीका चार हजार १५१ भवन संरचनामा क्षति पुगेको उल्लेख छ। तीमध्ये दुई हजार ७०२ घर, २८८ गोठ, धनसार वा मतान, ६५१ ट्रस र २६३ टहरा छन्। अन्य प्रकारका १४२ संरचनामा क्षति पुगेको छ भने १५ संरचनाको विवरण स्पष्ट हुन सकेको छैन।

कुल क्षतिग्रस्त संरचनामध्ये दुई हजार ९८९ अर्थात् करिब ७२ प्रतिशत पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। पाँच सय आठ संरचना माटो तथा लेदोले पुरिएका छन्। त्यस्तै, ३०२ भवनमा आंशिक क्षति, १९२ वटामा सामान्य क्षति र १४१ संरचना ढल्किएको अवस्थामा रहेको सर्वेक्षणले देखाएको छ।

क्षतिको अवस्थाका आधारमा तीन हजार १०४ संरचना अर्थात् करिब ७७ प्रतिशत पुनः प्रयोग गर्न नसकिने अवस्थामा रहेको आयोगको तथ्यांक छ। पूर्ण मर्मतपछि प्रयोग गर्न सकिने संरचना ३३२ र सामान्य मर्मतपछि प्रयोग गर्न सकिने ३२० छन्। मर्मत नगरी बस्न मिल्ने संरचनाको संख्या ९७ मात्र रहेको छ।

व्यापार तथा व्यवसायमा पनि ठूलो नोक्सानी

बाढीबाट प्रभावित व्यवसायमध्ये थोक तथा खुद्रा व्यापार गर्ने प्रतिष्ठानको संख्या सबैभन्दा बढी छ। क्षति बेहोरेका एक हजार ६३८ व्यवसायमध्ये ७७४ अर्थात् ४७.२५ प्रतिशत थोक तथा खुद्रा व्यापारसँग सम्बन्धित छन्।

त्यसैगरी आवास तथा खाद्य सेवाका ३३७, कृषि, वन तथा मत्स्यपालनका १६६ र अन्य सेवासँग सम्बन्धित १३६ प्रतिष्ठान प्रभावित भएका छन्। व्यवसायीका ४०३ सवारीसाधनमा मात्रै ९४ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरणमा उल्लेख छ।

विभिन्न प्रतिष्ठानले पालेका १३० ठूला पशु, दुई हजार ५८ साना पशु र एक लाख ५३ हजार ५२ पन्छी पनि नष्ट भएका छन्। त्यस्तै, २८ हजार १५० किलो माछा नोक्सान भएको आयोगले जनाएको छ।

बाढीबाट भएको क्षतिको विस्तृत विवरण तयार गर्न सरकारले विपद्पछिको आवश्यकता मूल्यांकन प्रक्रिया अघि बढाएको हो। मन्त्रिपरिषद्ले भदौ १२ गते क्षतिको मूल्यांकन, वित्तीय आवश्यकता निर्धारण र पुनर्निर्माण योजना तयार गर्ने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार आयोगले प्रश्नावली तयार गरी प्रभावित क्षेत्रमा तथ्यांक संकलन गरेको हो। यस कार्यका लागि ५८ टोलीमा १५६ जना प्राविधिक तथा प्रशासनिक जनशक्ति परिचालन गरिएको आयोगले जनाएको छ।

हाल संकलित विवरणको प्रशोधन र विश्लेषण भइरहेको छ। अन्तिम मूल्यांकनपछि प्रभावित परिवारको पुनःस्थापना, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र जीविकोपार्जन पुनःस्थापनाका लागि आवश्यक स्रोत तथा कार्यक्रम पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

९ कार्तिक २०८३, आईतवार १८:४७