तौथलीमा दही जात्राको रौनक, मौलिक संस्कृति जोगाउने प्रयास

जनतापत्र, सिन्धुपाल्चोक।

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५ तौथलीमा परम्परागत दही जात्रा उल्लासपूर्वक मनाइएको छ। धार्मिक विश्वास, ऐतिहासिक परम्परा र स्थानीय संस्कृतिसँग जोडिएको जात्रामा बालबालिका, युवायुवतीदेखि ज्येष्ठ नागरिकसम्मको सहभागिता रहेको थियो।

जात्राका क्रममा सहभागीहरूले ठेकी र बाल्टीमा राखिएको अबिर मिसाइएको दही एकअर्कालाई छ्यापेर उत्सव मनाएका थिए। परम्परागत वेशभूषा, धार्मिक जयघोष र सामूहिक सहभागिताले तौथली बजारलाई उत्सवमय बनाएको थियो। जिल्लाका विभिन्न स्थानबाट आएका श्रद्धालु तथा स्थानीय बासिन्दाको उपस्थितिले जात्रामा थप रौनक ल्याएको थियो।

स्थानीय अगुवा विष्णुभक्त श्रेष्ठका अनुसार जात्राको सुरुवात ‘जय जय ओम महादेवी’को जयघोषसँगै गरिन्छ। तान्त्रिक तथा मान्त्रिक विधिअनुसार ल्याइएका छवटा परम्परागत लिंगोको पूजा गरेपछि सगुन खुवाउने विधि पूरा गरिन्छ। त्यसपछि बजारको मध्यभागबाट दही जात्रा सुरु हुने परम्परा छ। बजारका विभिन्न भाग परिक्रमा गर्दै जात्रा त्रिपुरासुन्दरी माईको मन्दिर परिसरमा पुग्ने गर्दछ।

भूकम्पपछि पुरातत्त्व विभागको तीन करोड ६५ लाख रुपैयाँको लागतमा पुरानै शैली झल्किने गरी पुनर्निर्माण गरिएको त्रिपुरासुन्दरी माईको मन्दिर जात्राको प्रमुख आकर्षण बनेको थियो। मन्दिर परिसरमा पुगेपछि सहभागीहरूले दही छ्याप्दै धार्मिक परम्परालाई निरन्तरता दिएका थिए।

स्थानीय जनविश्वासअनुसार महिषासुरको वधपछि महाकाली भगवती अर्थात् ललिता त्रिपुरासुन्दरी महादेवीको विजयको खुसीयालीमा यो जात्रा मनाउन थालिएको हो। स्थानीयले यस परम्पराको सुरुवात किराँतकालदेखि भएको विश्वास गर्दै आएका छन्।

तौथलीका वडाध्यक्ष यादव श्रेष्ठका अनुसार दही जात्रा देवीप्रतिको श्रद्धा र स्थानीय जीवनशैलीसँग गहिरो रूपमा जोडिएको छ। गाईभैंसीमा रोगव्याधि नलागोस्, पशुपालन फस्टाओस् र व्यापार व्यवसायमा उन्नति होस् भन्ने कामनासहित देवीलाई दही चढाउने चलन रहेको उनले बताए।

दहीलाई प्रसादका रूपमा ग्रहण गर्ने परम्परा भए पनि सबैलाई छुट्टाछुट्टै वितरण गर्न कठिन हुने भएकाले एकअर्कालाई दही छ्याप्ने प्रचलन विकसित भएको स्थानीयको भनाइ छ। यसले धार्मिक आस्थासँगै आपसी सद्भाव, एकता र सामुदायिक सम्बन्धलाई बलियो बनाउने विश्वास गरिन्छ।

तौथलीको सांस्कृतिक पहिचान दही जात्रामा मात्र सीमित छैन। यहाँको त्रिपुरासुन्दरी देवीको पूजा तथा विभिन्न धार्मिक अनुष्ठान बडादसैँको फूलपातीदेखि सुरु हुने गर्दछन्। हनुमानढोकास्थित दिगु तलेजुका सात छोरीमध्ये कान्छी छोरीका रूपमा देवीलाई मान्ने धार्मिक परम्परा पनि यहाँ प्रचलित छ।

फूलपातीका दिन धुस्कुनका पहरी समुदायले मन्दिरमा तीनवटा माछा चढाउने चलन रहेको छ। महाअष्टमीमा कालो रङको बोकाको मात्र बलि दिने परम्परा छ। त्यस्तै, दसैँको दशमीको रात वर्षमा एकपटक प्रदर्शन गरिने भैरव, कुमारी, चण्डी र स्याल कहनलगायतका परम्परागत नृत्य तथा सांस्कृतिक गतिविधिले तौथलीको मौलिकता झल्काउने गरेका छन्।

स्थानीय तहले पनि जात्राको निरन्तरता र संरक्षणका लागि बजेट विनियोजन गर्दै आएको छ। आधुनिक जीवनशैलीको प्रभावले पुराना संस्कार र संस्कृतिहरू ओझेलमा पर्न सक्ने अवस्थामा तौथलीमा पुस्तौँदेखि चल्दै आएको यो परम्पराले स्थानीय पहिचान जोगाउन योगदान पुर्‍याएको छ।

तौथली दही जात्रा धार्मिक आस्था र सांस्कृतिक विरासतको प्रतीकका रूपमा स्थापित छ। यसको व्यवस्थित संरक्षण, प्रचारप्रसार र प्रवर्द्धन गर्न सके नयाँ पुस्तालाई मौलिक परम्परासँग परिचित गराउनुका साथै सिन्धुपाल्चोकको सांस्कृतिक पर्यटन विकासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

७ कार्तिक २०८३, शुक्रबार ०७:१८