राजनीतिमा अध्ययन र अनुसन्धानलाई प्राथमिकता दिनुपर्छ : बिजुक्छे

जनतापत्र, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिकर्मीले समाजका समस्या पहिचान गरी समाधान खोज्न अध्ययन र अनुसन्धानमा जोड दिनुपर्ने बताएका छन्। राजनीतिक क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्न अरूका अनुभवबाट सिक्ने र समाजको वास्तविकता बुझ्ने क्षमता आवश्यक रहेको उनले बताए।

भक्तपुरमा सम्पन्न ४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वजाको समापन समारोहमा बोल्दै बिजुक्छेले राजनीतिक कार्यकर्ताको मूल्यांकन पार्टीको सदस्यताबाट मात्रै गर्न नहुने धारणा राखे। अध्ययन, अनुभव, अनुसन्धान र व्यवहारमा देखिने कार्यक्षमताका आधारमा कार्यकर्ताको क्षमता पहिचान गर्नुपर्ने उनको भनाइ थियो।

समाजमा रहेका समस्या र जनताका आवश्यकताबारे जानकारी लिन राजनीतिकर्मीले निरन्तर अध्ययन गर्नुपर्ने उनले बताए। समाजको वास्तविक अवस्था नबुझी समस्याको समाधान खोज्न कठिन हुने भएकाले राजनीतिक गतिविधिसँगै अनुसन्धानलाई पनि महत्त्व दिनुपर्नेमा उनले जोड दिए।

समापन समारोहमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वलाई सम्मान गरिएको थियो। किसान अगुवा मोहनबहादुर कुस्मा, लालाखिं गुरु मोतीबहादुर खायमली, समाजसेवी कृष्णदेवी वाङायो र सामाजिक अगुवा टेकबहादुर पलिखेललाई बिजुक्छेले दोसल्ला ओढाएर नगदसहित सम्मान गरेका थिए।

सम्मेलनअन्तर्गत आयोजित साहित्यिक प्रतियोगिताका विजेतालाई पनि पुरस्कार वितरण गरिएको थियो। कविता विधामा सकुन्तला महर्जन प्रथम, हरिसुन्दर पोतामहाँ द्वितीय, शिल्भिया प्रजापति तृतीय र ओमकृष्ण श्रेष्ठ चौथो भएका थिए।

त्यसैगरी कथा विधामा कमलकेशरी थुयाजु प्रथम, सूर्यनारायण फाँजु द्वितीय, श्रीया पहिजु तृतीय र एलके सुन्दर चौथो घोषित भएका थिए। निर्णायक मण्डलले गरेको मूल्यांकनका आधारमा उनीहरूको स्थान निर्धारण गरिएको आयोजकले जनाएको छ।

सम्मेलनको पहिलो दिन तःमुंज्याको मुखपत्र ‘तःमुंज्या ख्वपौँ’ सार्वजनिक गरिएको थियो। उक्त प्रकाशनको विमोचन बिजुक्छेले गरेका थिए। सोही दिन हरिबहादुर श्रेष्ठ (नारायणमान बिजुक्छे) द्वारा लिखित ‘नयाँ पुस्ता’ पुस्तक वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले सार्वजनिक गरेका थिए।

दुई दिनसम्म सञ्चालन भएको साहित्य सम्मेलनमा भाषा, साहित्य, कला र संस्कृतिका विविध पक्षमा छलफल गरिएको थियो। ‘जनता म्वाःसा भाषा म्वाई’ अर्थात् ‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा नेपालभाषाको संरक्षण, साहित्यिक सिर्जनाको विकास र सांस्कृतिक पहिचानको निरन्तरताबारे विचार आदानप्रदान गरिएको थियो।

कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापति, पार्टीका केन्द्रीय सदस्य नन्दबहादुर शाही, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, जलस्रोतविद् रतन भण्डारी, डा. धनरत्न शाक्य, डा. सरोज धिताल र डा. तारालाल श्रेष्ठलगायत सहभागी थिए। साहित्यकार हरिहर तिमल्सिना, अभय श्रेष्ठ र कृष्णकुमार वैद्यसहित विभिन्न क्षेत्रका विज्ञ तथा साहित्यकर्मीले पनि साहित्य र भाषाको महत्त्वबारे धारणा राखेका थिए।

भक्तपुर नगरपालिका–७, गोमारीस्थित यातामा आयोजना गरिएको सम्मेलनमा समसामयिक सामाजिक तथा राजनीतिक विषयमा समेत अन्तरक्रिया भएको थियो। भाषा र संस्कृति समुदायको पहिचानसँग जोडिएकाले यसको संरक्षणमा जनस्तरबाट निरन्तर पहल आवश्यक रहेको विषय सम्मेलनमा उठाइएको थियो।

साहित्यिक प्रतियोगिता, सम्मान तथा वैचारिक छलफल समेटिएको सम्मेलनले नेपालभाषाको प्रवर्द्धन र नयाँ पुस्तामा भाषा, साहित्य तथा संस्कृतिप्रतिको रुचि बढाउने उद्देश्यलाई प्राथमिकता दिएको थियो।

९ कार्तिक २०८३, आईतवार १८:३७