जनतापत्र, काठमाडौं।
चीनको तिब्बती क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी १६ जनाको मृत्यु भएको छ। भूकम्पमा ३२ जना घाइते भएका छन् भने तीन सयभन्दा बढी घरमा क्षति पुगेको छ। प्रभावित क्षेत्रमा उद्धार तथा राहतका काम सञ्चालन भइरहेका छन्।
प्राप्त विवरणअनुसार बिहीबार राति स्थानीय समय १०ः३३ बजे चीनको सिजाङ स्वायत्त क्षेत्रस्थित नाग्छु सहरको बाकेन काउन्टी आसपास केन्द्रबिन्दु बनाएर ७ म्याग्निच्युडको भूकम्प गएको थियो।
भूकम्पबाट प्रभावित क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। शुक्रबार बिहानसम्मको विवरणअनुसार घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ। अन्य २१ जना सामान्य घाइते भएका छन्।
भूकम्पले घर तथा अन्य संरचनामा क्षति पुर्याएपछि स्थानीय बासिन्दा प्रभावित भएका छन्। क्षतिको वास्तविक अवस्था पत्ता लगाउन सम्बन्धित निकायले विवरण सङ्कलन गरिरहेका छन्। भत्किएका भवनमा खोजी तथा उद्धार गर्नुका साथै घाइतेलाई उपचार उपलब्ध गराउने काम भइरहेको छ।
उद्धार कार्यलाई प्रभावकारी बनाउन घटनास्थलमा तीन सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ। त्यसैगरी, क्षेत्रीय अग्नि नियन्त्रण तथा उद्धार टोलीका ३४७ जना कर्मचारीलाई पनि प्रभावित क्षेत्रमा खटाइएको छ।
उद्धार टोलीले जोखिममा रहेका नागरिकको सुरक्षा, घाइतेको उपचार र प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने कामलाई प्राथमिकता दिएको छ। भूकम्पबाट भएको क्षतिको विस्तृत मूल्याङ्कन भने जारी रहेको छ।
प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य निरन्तर भइरहेकाले थप विवरण सङ्कलन भइरहेको जनाइएको छ।
७ कार्तिक २०८३, शुक्रबार ०७:०२