युवाहरुलाई आधारभूत बेकरी तथा बरिस्ता बनाउने तालिम


जनतापत्र, सिन्धुपाल्चोक।
सिन्धुपाल्चोकको चौतारामा युवालाई सीप सिकाएर स्वरोजगार तथा आयआर्जनमा जोड्ने उद्देश्यले सञ्चालन गरिएको आधारभूत बेकरी तथा बरिस्ता तालिम सम्पन्न भएको छ । १० दिनसम्म सञ्चालन भएको तालिममा २६ जना सहभागी भएका थिए ।
उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय, सिन्धुपाल्चोकको आर्थिक सहयोग तथा अर्गानिक एग्रो टुरिजम कर्पोरेट प्रालिको आयोजनामा २०८१ असोज २० देखि २९ गतेसम्म तालिम सञ्चालन गरिएको थियो । तालिममा सहभागीलाई बेकरीका परिकार बनाउने तथा कफी तयार गर्ने व्यावहारिक सीप प्रदान गरिएको थियो ।


तालिम समापन कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले सीपमूलक तालिमले व्यक्तिलाई आत्मनिर्भर बनाउन सहयोग पु¥याउने बताए । उनले सीपको सदुपयोग गर्दै स्वरोजगार बन्न तथा व्यावसायिक क्षेत्रमा अघि बढ्न सहभागीलाई आग्रह गरे।
कार्यक्रममा विशेष अतिथि सुभाष कर्माचार्यले सीप र श्रमको महत्वमाथि जोड दिँदै सीपविहीन व्यक्तिलाई जीवन निर्वाह गर्नसमेत कठिन हुन सक्ने बताए । सीप सिकेर श्रम गर्ने व्यक्ति स्वाभिमानी बन्ने उल्लेख गर्दै उनले स्वदेश तथा विदेशमा समेत सीपको प्रयोग गरेर राम्रोसँग जीवनयापन गर्न सकिने धारणा राखे ।


त्यस्तै, चौतारा साँगाचोकगढी नगरपालिका–५ का वडाध्यक्ष शिव श्रेष्ठले तालिम लिनु ठुलो होइन त्यसको उचित प्रयोग गर्नेपर्ने धारणा व्यक्त गरे । आधारभूत तालिम लिएका सहभागीलाई थप सीप सिकाएर व्यावसायिक रूपमा सक्षम बनाउन आवश्यक सहयोग गरिने उनको भनाइ थियो।

उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय, सिन्धुपाल्चोकका कार्यालय प्रमुख त्रिपुरारी बखरेलले आधारभूत तालिमले मात्रै सहभागीलाई पूर्ण व्यावसायिक दक्षता प्रदान गर्न नसक्ने भएकाले आगामी दिनमा समयअनुकूल उन्नत तालिम सञ्चालन गर्नुपर्ने बताए । सीपमूलक तालिममार्फत युवालाई रोजगारी खोज्ने मात्र नभई आफैँ व्यवसाय सञ्चालन गर्न सक्ने बनाउनु आवश्यक रहेको सरोकारवालाको उनको भनाइ थियो । बेकरी तथा बरिस्ताजस्ता व्यावसायिक सीपलाई व्यवहारमा उतार्न सके स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न र आर्थिक आत्मनिर्भरता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको उनले राखेका थिए ।



तालिममा बरिस्तासम्बन्धी प्रशिक्षण दिलेश खत्री र बेकरीसम्बन्धी प्रशिक्षण हर्कबहादुर तामाङले दिएका थिए । सहभागीलाई बेकरीका विभिन्न परिकार तयार गर्ने, कफी बनाउने तथा यससम्बन्धी व्यवसाय सञ्चालनका लागि आवश्यक आधारभूत सीप सिकाइएको थियो।
कार्यक्रममा सहभागी चाँदनी तामाङ र रवि दंगालले तालिमबाट आफूहरूले उपयोगी सीप सिक्ने अवसर पाएको बताए । उनीहरूले सिकेको सीपलाई व्यवहारमा उतार्दै आयआर्जनका गतिविधिमा संलग्न हुने अपेक्षा व्यक्त गरे।
तालिमको समापनसँगै सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा वडा सदस् रामबहादुर घलेले स्वागत मन्तव्य राखेको कार्यक्रम दिपेन्द्र घलेले सञ्चालन गरेका थिए।

३० आश्विन २०८३, शुक्रबार १२:५६