जनतापत्र, सिन्धुपाल्चोक।
जस्ट नेपाल फाउन्डेसन (JNF)ले सञ्चालन गरिरहेको CCAM-2 परियोजना अन्तर्गत स्थानीय जलवायु अभियन्ता (Local Climate Champion–LCC)हरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित पाँच दिने तालिम सफलतापूर्वक सम्पन्न भएको छ। साउन ४ गतेदेखि ८ गतेसम्म सञ्चालन गरिएको तालिममा हेलम्बु गाउँपालिकाका विभिन्न वडाका स्थानीय जलवायु अभियन्ताहरूको सक्रिय सहभागिता रहेको थियो।
जलवायु परिवर्तनका कारण बढ्दो प्राकृतिक विपद्, वातावरणीय चुनौती तथा स्थानीय स्तरमा देखिएका समस्यालाई प्रभावकारी रूपमा सामना गर्न सक्षम जनशक्ति तयार गर्ने उद्देश्यले तालिम आयोजना गरिएको जस्ट नेपाल फाउन्डेसनले जनाएको छ। तालिमका क्रममा सहभागीहरूलाई जलवायु परिवर्तनका कारण, प्रभाव, अनुकूलन तथा न्यूनीकरणका उपाय, विपद् जोखिम न्यूनीकरण, समुदायमा आधारित योजना निर्माण, वातावरण संरक्षण तथा स्थानीय तहमा जलवायु नेतृत्व विकासका विषयमा विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रममा सहभागीहरूले जलवायु परिवर्तनको प्रभावलाई समुदायस्तरमा कसरी पहिचान गर्ने, स्थानीय स्रोत–साधनको संरक्षण गर्दै दिगो विकासका गतिविधि सञ्चालन गर्ने, विपद् पूर्वतयारी तथा सचेतनामूलक अभियान सञ्चालन गर्ने लगायतका विषयमा व्यावहारिक अभ्याससमेत गरेका थिए। समूह छलफल, प्रस्तुतीकरण तथा अनुभव आदानप्रदानमार्फत सहभागीहरूले आफ्नो सिकाइलाई अझ प्रभावकारी बनाएका थिए।
जस्ट नेपाल फाउन्डेसनका प्रतिनिधिहरूले स्थानीय समुदायमा जलवायु परिवर्तनको असर दिनप्रतिदिन बढ्दै गएको उल्लेख गर्दै त्यसको समाधानका लागि स्थानीय तहको नेतृत्व र नागरिक सहभागिता अत्यन्त आवश्यक रहेको बताए। उनीहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै समुदायमा सचेतना फैलाउन स्थानीय जलवायु अभियन्ताहरूले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
सहभागीहरूले पनि तालिम अत्यन्त उपयोगी र समयसापेक्ष रहेको प्रतिक्रिया दिएका छन्। उनीहरूका अनुसार जलवायु परिवर्तनसँग सम्बन्धित विषयलाई व्यवहारिक रूपमा बुझ्ने अवसर प्राप्त भएको छ भने आगामी दिनमा आफ्नो समुदायमा वातावरण संरक्षण, वृक्षारोपण, फोहोर व्यवस्थापन, जलस्रोत संरक्षण तथा विपद् जोखिम न्यूनीकरणसम्बन्धी गतिविधि सञ्चालन गर्न थप आत्मविश्वास प्राप्त भएको बताएका छन्।
तालिम समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। साथै, समुदायमा जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलनका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न सबै स्थानीय जलवायु अभियन्ताहरूले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
जस्ट नेपाल फाउन्डेसनले CCAM-2परियोजनामार्फत सिन्धुपाल्चोकका विभिन्न स्थानीय तहमा जलवायु परिवर्तनका असर न्यूनीकरण, समुदायको क्षमता अभिवृद्धि तथा दिगो वातावरणीय व्यवस्थापनका क्षेत्रमा निरन्तर काम गर्दै आएको जनाएको छ। संस्थाले आगामी दिनमा पनि यस्ता तालिम तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै स्थानीय समुदायलाई जलवायु परिवर्तनप्रति थप सचेत र सक्षम बनाउने लक्ष्य लिएको जनाएको छ।
११ श्रावण २०८३, सोमबार १२:१६