काठमाडौं — मनाङस्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा परेर सम्पर्कविहीन भएका १४ नेपाली उच्च हिमाली कामदार तथा गाइडको खोजीका लागि उद्धार टोली परिचालन गरिएको छ। अन्तर्राष्ट्रिय पर्वतीय गाइड मिङ्मा जी शेर्पाको नेतृत्वमा १४ सदस्यीय टोलीले सोमबारदेखि आधारशिविरबाट खोजी थालेको हो।
हिमपहिरोमा परी मृत्यु भएका दुई जनाको शवसमेत काठमाडौं ल्याउने तयारी गरिएको छ। प्रभु हेलिकप्टरका वरिष्ठ क्याप्टेन पासाङ नोर्बु शेर्पाका अनुसार कैलाश हेलिकप्टरमार्फत ती शव चामे अस्पतालबाट काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याइँदै छ।
उद्धारका लागि गएको टोली आइतबार काठमाडौंँबाट हेलिकप्टरमा हिमलुङ आधारशिविरतर्फ गएको थियो। खराब मौसम र कठिन हिमाली भूगोलका कारण तत्कालै खोजी अघि बढाउन चुनौती देखिए पनि सोमबार बिहान टोलीलाई आधारशिविरमा पुर्याएर अभियान सुरु गरिएको हो।
क्याप्टेन शेर्पाका अनुसार आइतबार काठमाडौंँबाट गएको उद्धार टोलीका केही सदस्य राति मनाङको चामेमा बसेका थिए भने केही सदस्य आधारशिविरबाट फर्किएर फु गाउँमा बसेका थिए।
आरोहणको तयारीका क्रममा दुर्घटना
आगामी शरद् ऋतुमा हुने हिमलुङ आरोहणको तयारीका लागि हिमालयन होलिडेज र इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसनका दुई दर्जनभन्दा बढी नेपाली उच्च हिमाली कामदार तथा गाइड करिब दुई साताअघि काठमाडौंँबाट हिमलुङतर्फ गएका थिए।
उनीहरू आरोहण मार्ग निर्माण तथा आधारशिविर व्यवस्थापनको तयारीमा जुटेका थिए। तर हिमलुङ क्षेत्रमा हिमपहिरो गएपछि आइतबार बिहानदेखि १४ जनासँग सम्पर्क हुन नसकेको जानकारी आएको थियो।
त्यसपछि उनीहरूको अवस्था बुझ्न र हिमपहिरोले पुरेको हुन सक्ने सम्भावित स्थानमा खोजी गर्न अनुभवी पर्वतीय गाइड तथा उच्च हिमाली क्षेत्रमा काम गर्ने जनशक्ति सम्मिलित टोली पठाइएको हो।
मौसमले खोजीमा चुनौती
अहिले १४ सदस्यीय टोलीले हिमलुङ आधारशिविरबाट बेपत्ताहरूको खोजी गरिरहेको छ। हिमाली क्षेत्रमा बदलिँदो मौसम, बाक्लो हिउँ र कठिन भौगोलिक अवस्थाका कारण उद्धार तथा खोजी कार्य सहज नभएको बताइएको छ।
टोलीले सम्भावित स्थानहरूमा खोजीलाई प्राथमिकता दिँदै बेपत्ता भएका कामदार तथा गाइडको अवस्थाबारे जानकारी संकलन गरिरहेको छ।
१२ आश्विन २०८३, सोमबार ०९:५७