हिमलुङ हिमपहिरोमा चार जनाको शव भेटियो, १२ जना अझै बेपत्ता

काठमाडौं — मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी मृत्यु भएका चार जनाको शव फेला परेको छ। उनीहरूको पहिचानसमेत खुलेको नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) ले जनाएको छ।

एनएनएमजीएका अध्यक्ष तुलसिंह गुरुङका अनुसार सोमबार खोजीका क्रममा थप दुई जनाको शव भेटिएको हो। सोमबार फेला परेका वीरेन्द्र गुरुङ र घनश्याम राई तथा यसअघि आइतबार भेटिएका छेबी भोटे र पासाङ भोटेको पहिचान भएको उनले बताए।

हिमपहिरोपछि अझै १२ जना सम्पर्कविहीन छन्। उनीहरूको खोजीका लागि एनएनएमजीएको टोली हिमलुङ क्षेत्रमा निरन्तर परिचालन भइरहेको छ।

मौसम अनुकूल भए थप खोजी गरिने

सोमबार पनि खोज तथा उद्धार टोलीले हिमपहिरो प्रभावित क्षेत्रमा अभियान जारी राखेको अध्यक्ष गुरुङले बताए। उनका अनुसार मौसम र हिमालको अवस्था अनुकूल भए टोलीले थप ३ देखि ४ घण्टासम्म खोजी कार्यलाई निरन्तरता दिनेछ।

हिमलुङ क्षेत्रमा कठिन भौगोलिक अवस्था र मौसमका कारण खोजी तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। बेपत्ता भएका १२ जनाको अवस्थाबारे जानकारी लिन सम्भावित स्थानमा खोजीलाई केन्द्रित गरिएको एनएनएमजीएले जनाएको छ।

१२ आश्विन २०८३, सोमबार १३:२०