धोबिनीमा वृद्धा हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीका सामान पनि बरामद

पर्सा — पर्साको धोबिनी गाउँपालिका–५ मा ६२ वर्षीया महिलाको हत्या गरी घरमा चोरी गरेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय २६ वर्षीय चन्दनकुमार पटेल तथा १८ वर्षीय राजकपुर भनिने घलथरिया र रामु पासवान रहेका छन्।

प्रहरीका अनुसार उनीहरूमाथि स्थानीय श्रीनिवास साह तुराहाकी पत्नी लखरजिया देवीको हत्या र घरमा चोरी गरेको आरोप छ।

असोज ५ गते बिहान लखरजिया देवी घरको दोस्रो तलास्थित कोठामा मृत फेला परेकी थिइन्। घटनास्थलको अवस्था शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा असोज ४ गते राति करिब ३ बजे तीनै जनाले लखरजियाको घरमा चोरी गर्ने योजना बनाएर पछाडिको बाटो हुँदै माथिल्लो तलामा प्रवेश गरेको खुलेको प्रहरीले जनाएको छ। उनीहरूले झ्यालको ग्रिलको ढोका तोडेर घरभित्र प्रवेश गरेका थिए।

प्रहरीका अनुसार उनीहरू घरभित्र रहेको टिनको बाकसको ताला फुटाउँदै गर्दा लखरजियाले आवाज सुनेकी थिइन्। तलको तलामा सुतिरहेकी उनी आवाज सुनेपछि माथि पुगेपछि चोरीमा संलग्न तीनै जनालाई देखेकी थिइन्।

त्यसपछि आफूहरू चिनिने डरले तीनै जनाले लखरजियाको हत्या गरेको र घरमा रहेका नगद तथा गरगहना लिएर भागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

अदालतबाट सात दिनको म्याद

पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत पर्साबाट कर्तव्य ज्यान मुद्दामा सात दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए। उनीहरूमाथि घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

चोरीका सामान र घटनासँग सम्बन्धित सामग्री बरामद

प्रहरीले अनुसन्धानका क्रममा मृतकको घरबाट चोरी भएको भनिएका दुई थान सुनका चुरा पनि बरामद गरेको छ। यस्तै, चोरीको रकम बाँडफाँटपछि खर्च भएर बाँकी रहेको रकमसमेत फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चन्दनकुमार पटेलतर्फबाट ३ हजार रुपैयाँ र राजकपुरतर्फबाट ७ सय ५० रुपैयाँ बरामद भएको छ।

घटनास्थलबाट घरको छज्जामा भेटिएको फुटप्रिन्ट, गाडीको स्पिड पत्ता लगाउने उपकरण, एक थान प्लास र दुई थान चक्कुसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनामा अन्य पक्षको संलग्नता वा थप प्रमाणबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

१२ आश्विन २०८३, सोमबार १०:००