लखनउ । भारतको उत्तर प्रदेशमा करिब तीन दिनदेखि निरन्तर भइरहेको भारी वर्षाका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ। बाढी, डुबान, घर तथा रुख भत्किने लगायतका घटनामा शनिबार साँझसम्म ५८ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
लगातारको वर्षाले ग्रामीण क्षेत्रका साथै सहरी जनजीवनसमेत प्रभावित भएको छ। धेरै स्थानमा कच्ची घर भत्किएका छन् भने रुख र विद्युत्का पोल ढलेपछि सडक अवरुद्ध हुनुका साथै विद्युत् आपूर्तिमा समेत समस्या आएको छ। वर्षाका कारण कृषि क्षेत्रमा पनि ठूलो क्षति पुगेको बताइएको छ।
लखीमपुरमा एकै दिन ३४२ मिलिमिटर पानी
शनिबार उत्तर प्रदेशका करिब १० जिल्लामा २०० मिलिमिटरभन्दा बढी वर्षा भएको थियो। लखीमपुर खीरीमा मात्रै ३४२ मिलिमिटर वर्षा मापन गरिएको छ।
त्यस्तै सीतापुरमा २७३.२, बाँदामा २४५.६ र बहराइचमा २३९ मिलिमिटर वर्षा भएको जनाइएको छ। बाँदा र हमीरपुरमा एकै दिन भएको वर्षाले यसअघिका वर्षाका रेकर्डसमेत पार गरेको छ।
कानपुरमा १७५.४ मिलिमिटर वर्षा हुँदा करिब ४५ वर्षयताकै उच्च वर्षाको रेकर्ड बनेको बताइएको छ।
अवध क्षेत्रमा बढी मानवीय क्षति
वर्षाजन्य घटनाबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये अवध पनि परेको छ। यहाँका विभिन्न जिल्लामा गरी २६ जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको छ।
सीतापुरमा ६, बहराइचमा ५, बलरामपुर र अयोध्यामा ४–४ तथा बाराबंकीमा ३ जनाको मृत्यु भएको छ। गोन्डा, अमेठी र श्रावस्तीमा पनि मानवीय क्षति भएको जनाइएको छ।
त्यस्तै लखीमपुर खीरीमा ६, गोरखपुरमा ५, हरदोईमा ४ तथा हमीरपुरमा ३ जनाको मृत्यु भएको छ। अन्य जिल्लामा पनि वर्षासँग सम्बन्धित घटनामा केही मानिसले ज्यान गुमाएका छन्।
लखनऊका सडकदेखि विमानस्थलसम्म असर
राजधानी लखनऊमा समेत वर्षाले ठूलो समस्या निम्त्याएको छ। धेरै सडकमा पानी जम्दा यातायात प्रभावित भएको छ भने कतिपय स्थानमा घुँडासम्म पानी पुगेको बताइएको छ।
नगर निगमका अनुसार लखनऊमा मात्रै १२५ भन्दा बढी रुख ढलेका छन्। चारबाग रेलवे स्टेसन आसपास पनि पानी जमेको थियो। रेलमार्गमा पानी पसेपछि केही रेलको गति घटाइएको थियो।
कम भिजिबिलिटीका कारण लखनऊ विमानस्थलमा अवतरण गर्न लागेका ६ वटा उडान दिल्ली र नोएडा डाइभर्ट गरिएका थिए। ती विमानहरू पछि लखनऊ फर्किएका जनाइएको छ।
आइतबार पनि भारी वर्षाको सम्भावना
भारतीय मौसम विभागले आइतबार पनि उत्तर प्रदेशका विभिन्न क्षेत्रमा भारी वर्षा हुन सक्ने चेतावनी दिएको छ। मुरादाबाद, रामपुर, पीलीभीत र बरेलीमा अति भारी वर्षाका लागि ओरेन्ज अलर्ट जारी गरिएको छ।
तराई क्षेत्रका थप नौ जिल्लामा भारी वर्षाको सम्भावनालाई लिएर येलो अलर्ट जारी गरिएको छ। प्रदेशका २७ जिल्लामा मेघगर्जनसहित प्रतिघण्टा ४० देखि ६० किलोमिटरको गतिमा हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ।
मौसमविद्का अनुसार सोमबारदेखि भने उत्तर प्रदेशमा वर्षाको गतिविधि क्रमशः कम हुँदै जाने सम्भावना छ।
सीमावर्ती क्षेत्रमा पनि सतर्कता
नेपालमा समेत भारी वर्षा भइरहेकाले उत्तर प्रदेशका नेपालसँग सीमा जोडिएका जिल्लामा नदीको जलस्तर बढ्न सक्ने भन्दै प्रशासनलाई सतर्क रहन भनिएको छ। नदीको अवस्था निरन्तर निगरानी गर्न र उद्धार टोलीलाई तयारी अवस्थामा राख्न सम्बन्धित अधिकारीलाई निर्देशन दिइएको छ।
प्रदेशका ६३ जिल्लामा सामान्यभन्दा बढी वर्षा भएको जनाइएको छ। पछिल्लो २४ घण्टामा प्रदेशभर सामान्यभन्दा १९ गुणासम्म बढी वर्षा भएको विवरण सार्वजनिक भएको छ।
सरकारका अनुसार पछिल्लो ४८ घण्टामा अतिवृष्टि र हावाहुरीका कारण ११७ घरमा क्षति पुगेको छ। प्रभावित परिवारको अवस्था पहिचान गरी राहत उपलब्ध गराउन तथा जोखिममा रहेका कच्ची घरका बासिन्दालाई आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्थानीय प्रशासनलाई निर्देशन दिइएको छ।
११ आश्विन २०८३, आईतवार ०९:३२