यूएईका परराष्ट्रमन्त्रीसँग खनालको भेट, बाढीपीडितका लागि थप सहयोगप्रति धन्यवाद

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त अरब इमिरेट्स (यूएई) का उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नह्यानसँग न्यूयोर्कमा भेटवार्ता गरेका छन्।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा यूएईको स्थायी नियोगमा भएको भेटमा नेपाल–यूएई सम्बन्ध तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको हो।

बाढीपीडितलाई थप सहयोगको प्रतिबद्धता

भेटमा मन्त्री खनालले नेपालमा जलवायुजन्य विपद्बाट प्रभावित समुदायप्रति यूएई सरकार र जनताले व्यक्त गरेको सहानुभूति तथा ऐक्यबद्धताका लागि धन्यवाद दिएका थिए।

बाढी प्रभावित समुदायका लागि यूएईले यसअघि उपलब्ध गराएको मानवीय सहयोगप्रति समेत उनले नेपाल सरकार र नेपाली जनताको तर्फबाट आभार व्यक्त गरे।

त्यस्तै, बाढीपीडितका लागि थप २५ मिलियन अमेरिकी डलर आर्थिक सहयोग उपलब्ध गराउने यूएईको प्रतिबद्धताप्रति पनि खनालले धन्यवाद दिएका छन्।

श्रमदेखि नवीकरणीय ऊर्जासम्म छलफल

भेटवार्तामा नेपाल र यूएईबीचको द्विपक्षीय सम्बन्धलाई थप विस्तार गर्ने विषयमा दुवै पक्षले छलफल गरेका थिए।

विशेषगरी श्रम, व्यापार, लगानी, पर्यटन, नवीकरणीय ऊर्जा र कनेक्टिभिटीका क्षेत्रमा सहकार्य बढाउने सम्भावनाबारे कुराकानी भएको जनाइएको छ। संयुक्त राष्ट्रसंघलगायत बहुपक्षीय मञ्चमा दुई देशबीचको सहकार्यका विषयमा पनि छलफल भएको थियो।

आर्मेनियाका परराष्ट्रमन्त्रीसँग पनि भेट

यसै क्रममा परराष्ट्रमन्त्री खनालले आर्मेनियाका परराष्ट्रमन्त्री अरारात मिर्जोयानसँग पनि न्यूयोर्कमा भेटवार्ता गरेका छन्।

भेटमा नेपाल र आर्मेनियाबीचको सम्बन्ध तथा आपसी हित र चासोका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। दुवै पक्षले मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउँदै पारस्परिक लाभ हुने क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका थिए।

११ आश्विन २०८३, आईतवार ०९:२८