टीका सुवेदी , सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ स्थित लिदी क्षेत्रमा व्राह्मायणी खोला माथि निर्माण गरिएको वेलीब्रिज उद्घाटन गरिएको छ । बलेफी इनर्जी हाइड्रोपावर प्रालिले लिदीमा वेलीब्रिज निर्माण गर्दै स्थानियलाई उपहार दिएको हो ।
बुधबार आयोजित विशेष कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्वोले पुलको उद्घाटन गर्दै पुल निर्माणले स्थानीय नागरिकको दैनिक जीवनमा महत्वपूर्ण सहजता थपिएको बताउनुभयो ।
लामो समयदेखि खोला तर्न कठिनाइ भोग्दै आएका स्थानीय नागरिकका लागि वेलीब्रिज निर्माण महत्वपूर्ण उपलब्धि भएको भन्दै अध्यक्ष स्याङ्वोले छोटो समयमा पुल निर्माण सम्पन्न गरेकोमा बलेफी इनर्जी हाइड्रोपावर प्रालिलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले गाउँपालिकाको विकासमा निजी क्षेत्रको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि स्थानीय तह, नागरिक र कम्पनीबीच निरन्तर समन्वय हुनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष स्याङ्वोले हाइड्रोपावर कम्पनीले कानुनसम्मत तथा सम्झौताअनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो । आयोजना प्रभावित नागरिकलाई सेयरमार्फत सहभागिता गराउनुपर्ने उल्लेख गर्दै उहाँले स्थानीय बासिन्दाले सहज पहुँचका आधारमा सेयर प्राप्त गर्न पाउनुपर्ने बताउनुभयो । “स्थानीय नागरिकको भावना र आवश्यकतालाई प्राथमिकतामा राखेर आयोजनाका कामहरु सञ्चालन गर्नुपर्छ,” उहाँले भन्नुभयो ।
कार्यक्रममा बोल्दै मा बलेफी इनर्जी हाइड्रोपावर प्रालि अध्यक्ष दिलकुमार श्रेष्ठले कम्पनीको तर्फबाट लिदीवासीलाई पुल उपहारस्वरूप प्रदान गरिएको बताउनुभयो । उहाँका अनुसार करिब ७ करोड रुपैयाँ लागतमा ५१ मिटर लामो तथा ४० टन भार क्षमता भएको वेलीब्रिज निर्माण गरिएको हो । पुल निर्माणले स्थानीय बासिन्दाको आवतजावत सहज बनाउने मात्र नभई विकासका अन्य सम्भावनालाई समेत बल पुग्ने उहाँको भनाइ थियो ।
अध्यक्ष श्रेष्ठले पुल निर्माणका क्रममा स्थानीय नागरिकलाई उनीहरूको क्षमता अनुसार प्राथमिकतामा राखेर रोजगारी उपलब्ध गराइएको जानकारी दिनुभयो । आयोजना सञ्चालनका विभिन्न चरणमा स्थानीय जनशक्तिलाई सहभागी गराउँदै आएको बताउँदै उहाँले आगामी दिनमा पनि स्थानीय समुदायसँग सहकार्यलाई प्राथमिकता दिइने धारणा व्यक्त गर्नुभयो ।

उहाँले ४० मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालनमा आएपछि लिदी जाने मोटरबाटोको स्तरउन्नति गरिने जानकारी दिनुभयो । साथै शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा समेत सहयोग विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “हामी स्थानीय तह र समुदायसँग सहकार्य गर्दै क्षेत्रको समग्र विकासमा योगदान दिन चाहन्छौँ,” श्रेष्ठले भन्नुभयो ।

त्यसैगरी जुगल गाउँपालिका–२ का वडा अध्यक्ष चन्द्रकाजी लामा ले पुल निर्माणसँगै स्थानीय नागरिकले ठूलो राहत महसुस गरेको बताउनुभयो । विगतमा खोला तर्ने क्रममा धेरै कठिनाइ हुने गरेको स्मरण गर्दै उहाँले केही व्यक्तिले ज्यानसमेत गुमाउनुपरेको दुःखद अवस्थालाई सम्झनुभयो ।
“पहिले वर्षायाममा खोला तर्न निकै जोखिम हुन्थ्यो । अहिले पुल बनेपछि स्थानीयलाई सुरक्षित र सहज आवतजावतको सुविधा मिलेको छ,” उहाँले भन्नुभयो । वडा अध्यक्ष लामाले हाइड्रोपावर कम्पनीसँग स्थानीय युवालाई क्षमता अनुसार रोजगारीको अवसर उपलब्ध गराउन आग्रहसमेत गर्नुभयो ।

कार्यक्रमका अध्यक्ष विष्णुलाल दोङले हाइड्रोपावर कम्पनीले पुल निर्माण गरेर स्थानीय समुदायलाई ठूलो गुण लगाएको बताउनुभयो । उहाँले पुल निर्माणले स्थानीयको दैनिकी सहज बनाउनुका साथै आर्थिक तथा सामाजिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रम सञ्चालनकर्ता रोहित दोङले वेलीब्रिज निर्माणलाई स्थानीयवासीका लागि गर्वको विषय भएको बताउनुभयो । उहाँले आगामी विकास योजनामा समेत कम्पनीले सहकार्य र सहयोगलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सामाजिक अगुवा, नागरिक समाजका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो । सो अवसरमा दिलकुमार श्रेष्ठ लाई सम्मान गरिएको थियो भने उपस्थित अतिथिहरूलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो ।
स्थानीयवासीले पुल निर्माणसँगै अब शिक्षा, स्वास्थ्य, व्यापार तथा यातायातका क्षेत्रमा सहजता आउने अपेक्षा गरेका छन् । उनीहरूले विकास निर्माणका काममा स्थानीय समुदायको हितलाई प्राथमिकतामा राखेर अघि बढ्न सबै पक्षसँग आग्रह गरेका छन् ।

१३ जेष्ठ २०८३, बुधबार १८:२९