त्रिपुरेश्वरका बस चालकले पटक–पटक अरूको लाइसेन्स प्रयोग गरेको प्रहरीको भनाइ

काठमाडौं — त्रिपुरेश्वरमा सोमबार यात्रुलाई बसबाट झारेर आफैंलाई आगो लगाएका चालकले विगतमा पनि अरू व्यक्तिको नाममा जारी भएका सवारी चालक अनुमति पत्र प्रयोग गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

घटनापछि प्रहरीले चालकको साथबाट काभ्रेको तिमालका दावा लामाको नाममा रहेको लाइसेन्स बरामद गरेको थियो। अनुसन्धानका क्रममा उक्त व्यक्ति मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–सिस्नेरीका अर्जुन दोङ तामाङ भएको पहिचान भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी दिलिप घिमिरेले बताएका छन्।

प्रहरीका अनुसार दोङ २०८२ कात्तिकमा बालाजुमा भएको बस दुर्घटनामा समेत संलग्न थिए। उक्त दुर्घटनामा तीन जना घाइते भएका थिए। दुर्घटनापछि उनी फरार रहेको र त्यतिबेला सुनिल तामाङको नाममा जारी लाइसेन्स प्रयोग गरेको प्रहरीको दाबी छ।

त्यसैगरी, करिब तीन महिनाअघि मुलपानी क्षेत्रमा ट्राफिक प्रहरीसँग विवाद हुँदा उनले दावा तामाङको नाममा रहेको लाइसेन्स प्रयोग गरेको पनि अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

सोमबार ट्राफिक प्रहरीसँग विवाद भएपछि उनले यात्रुलाई बसबाट ओरालेका थिए। त्यसपछि बसभित्रै आफूलाई आगो लगाएका उनको उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पुर्‍याइएको थियो। अस्पतालका अनुसार उनको शरीरको करिब ९० प्रतिशत भाग जलेको थियो।

उपचारकै क्रममा सोमबार साँझ करिब ७ बजे दोङको मृत्यु भएको प्रहरीले जनाएको छ। आगलागीपछि प्रहरीले बसको ढोका फुटाएर उनलाई बाहिर निकालेको थियो भने दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

६ आश्विन २०८३, मंगलवार ११:५९