मेलम्चीमा अपाङ्गता समावेशीकरण कार्यक्रम, परियोजनामा १ करोड ५७ लाख खर्च

मेलम्ची — अपाङ्गता भएका नागरिकलाई सेवा, अवसर र अधिकारमा सहज पहुँच दिलाउने उद्देश्यले मेलम्ची नगरपालिकामा सञ्चालन भइरहेको परियोजनाको हालसम्मको प्रगति सार्वजनिक गरिएको छ।

टुकी संघ सुनकोशीले ह्याण्डीक्याप इन्टरनेशनलको सहयोगमा सञ्चालन गरिरहेको ‘अपाङ्गता भएका व्यक्तिहरूको पहुँच वृद्धि परियोजना’ को स्थानीय सल्लाहकार समितिको बैठकमा परियोजनाका गतिविधि र आगामी कार्यक्रमबारे समीक्षा गरिएको हो।

चार वर्षे परियोजनाका लागि २ करोड ४ लाख ३ हजार ९ सय ४ रुपैयाँ बजेट छुट्याइएको छ। यसमध्ये अहिलेसम्म १ करोड ५७ लाख २१ हजार ८ सय १४ रुपैयाँ खर्च भइसकेको परियोजनाले जनाएको छ।

परियोजनामार्फत मेलम्ची नगर अस्पतालमा फिजियोथेरापी तथा शारीरिक पुनस्र्थापना सेवा सञ्चालन गरिएको छ। यसका साथै अपाङ्गता भएका व्यक्तिको आर्थिक तथा वित्तीय पहुँच बढाउने, जलवायुजन्य जोखिमसँग जुध्ने क्षमता विकास गर्ने, विपद्का बेला उत्थानशीलता बढाउने र सामाजिक सुरक्षा सेवामा पहुँच विस्तार गर्ने कार्यक्रम पनि सञ्चालनमा छन्।

बैठकमा परियोजना संयोजक महेन्द्र कार्कीले अघिल्लो आर्थिक वर्षमा सम्पन्न कार्यक्रम र त्यसबाट प्राप्त उपलब्धिको विवरण प्रस्तुत गरे। उनले आगामी वर्षका लागि प्रस्तावित योजना र प्राथमिकताबारे पनि जानकारी गराएका थिए।

नगर प्रमुख आइतमान तामाङले सामाजिक संघसंस्थाले स्थानीय सरकारको कामलाई सहयोग र सहजीकरण गरिरहेको उल्लेख गर्दै नगरपालिकाबाट आवश्यक समन्वय जारी रहने बताए।

उपप्रमुख उमा प्रधानले अपाङ्गता भएका व्यक्तिलाई लक्षित कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय सरकारसँगै गैरसरकारी संस्था र अन्य सरोकारवालाको निरन्तर सहकार्य आवश्यक रहेको बताइन्।

प्रमुख प्रशासकीय अधिकृत अनुषा कोइरालाले विभिन्न निकायबीचको समन्वयबाट सञ्चालन गरिएका योजनाले अपेक्षित परिणाम दिन सक्ने बताउँदै परियोजनाका कार्यक्रम कार्यान्वयनमा नगरपालिकाको सहयोग रहने उल्लेख गरिन्।

टुकी संघ सुनकोशीका अध्यक्ष माधवप्रसाद पौडेलले परियोजनालाई अपाङ्गता भएका व्यक्तिलाई सेवा दिने कार्यक्रमका रूपमा मात्र नभई उनीहरूको अधिकार र सामाजिक सहभागिता बढाउने अभियानका रूपमा अघि बढाइएको बताए।

बैठकमा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी, परियोजना प्रतिनिधि र अन्य सम्बन्धित सरोकारवालाको सहभागिता थियो।

६ आश्विन २०८३, मंगलवार १२:५१