काठमाडौंको त्रिपुरेश्वरमा बसमा लागेको आगोमा परेर घाइते भएका चालक दावा लामाको स्वास्थ्य अवस्था गम्भीर बनेको छ।
आगलागीबाट गम्भीर घाइते लामाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ। चिकित्सक शंकर राईका अनुसार आगोले लामाको शरीरको ९० प्रतिशतभन्दा बढी भाग जलेको छ।
उनको अवस्था निकै नाजुक रहेको चिकित्सक राईले बताएका छन्। घटनापछि उद्धार गरी लामालाई उपचारका लागि बर्न अस्पताल पुर्याइएको थियो।
त्रिपुरेश्वर चोकमा रोकिएको रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको हो। घटनाको समयमा बसमा यात्रु नरहेको बताइएको छ।
बसमा आगो कसरी लाग्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।
५ आश्विन २०८३, सोमबार १३:५७