नेपाली श्रमिकको हितबारे प्रधानमन्त्री शाह र मलेसियाली प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाह र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमबीच नेपाली श्रमिकसँग सम्बन्धित विषयमा टेलिफोन संवाद भएको छ।

वार्ताका क्रममा प्रधानमन्त्री शाहले मलेसियामा रोजगारीका लागि जाने नेपाली श्रमिकले अनावश्यक समस्या र शोषण भोग्न नपर्ने वातावरण बनाउन आग्रह गरेका छन्। उनले मलेसियाको रोजगारी प्रणालीलाई पारदर्शी, मर्यादित र शोषणरहित बनाउनुपर्नेमा जोड दिएका हुन्।

शाहले नेपाली श्रमिकमाथि असर पार्ने सिन्डिकेट तथा बिचौलियाको भूमिकालाई अन्त्य गर्नुपर्ने धारणा राखेका थिए। श्रमिकको रोजगारी प्रक्रियामा यस्ता गतिविधि स्वीकार्य नहुने उनले स्पष्ट पारे।

जवाफमा मलेसियाली प्रधानमन्त्री इब्राहिमले पनि सिन्डिकेट र बिचौलिया प्रणालीप्रति असहमति जनाएका छन्। उनले नेपाली श्रमिकसँग सम्बन्धित समस्या समाधानका लागि आफ्ना श्रममन्त्रीलाई नेपालका सम्बन्धित अधिकारीसँग तत्काल समन्वय गर्न निर्देशन दिने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ।

दुई प्रधानमन्त्रीबीचको छलफल मुख्यतः मलेसियामा कार्यरत नेपाली श्रमिकको रोजगारी प्रक्रिया र उनीहरूको हित संरक्षणमा केन्द्रित रहेको थियो।

६ आश्विन २०८३, मंगलवार १२:५६